_डा.नरनाथ पाण्डे/नेपालको तराई भेगमा प्रत्येक वर्ष गर्मी तथा वर्षायाममा मात्र करीब २० हजार जनालाई सर्पले टोकेको पाइन्छ । ती मध्ये करीब १ हजारदेखि ३,२०० बिरामीहरूको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
पृष्ठभूमि
हामी जो कोही पनि सर्प भन्नेबित्तिकै डराउने, तर्सने गर्छौं र सर्पलाई शत्रु ठान्ने गर्छौं जुन स्वभाविक पनि छ । चिसो याममा लामो समय जमिनमुनि लुकेर वसेका सर्पहरू गर्मी र वर्षायाममा जमिनमा निस्कने गर्दछन् । वर्षायाममा खासगरी तराई क्षेत्रमा सर्पको डसाइको समस्या बिगबिगीको रुपमा हुनेगर्छ र मानिसहरू सधैं त्रासमा रहेका हुन्छन् ।
नेपालमा ठिक यसै समयमा हिन्दू धर्म अनुसार सर्पको पूजा गर्ने दिन अर्थात् नागपञ्चमीसमेत पर्दछ । सर्प निस्कने, अति विषालु हुने, डस्ने र सर्पको डसाइको समयमै उपचार हुन नसके मृत्यु हुने कारणले गर्दा यस याममा सर्पका कुरा गर्नु सान्दर्भिक पनि छ । नेपालमा पाइने गोमन सर्पले प्रायः बिहान वा दिउँसोको समयमा टोक्ने र करेत सर्पले रातिमा टोक्ने गरेको पाइएको छ । अतः आज हामी यस आलेखमा सर्पको परिचय, सर्पका प्रकार, नागपञ्चमी पर्व, सर्पको डसाइसम्बन्धी तथ्याङ्क, सर्पले टोकेमा गरिने प्राथमिक उपचार र अन्य व्यवस्थापनका केही प्रसङ्गहरूमाथि अध्ययन गर्नेछौं ।
सर्पको डसाइसम्बन्धी तथ्याङ्क
नेपालमा तराई क्षेत्रदेखि करिब ४,८०० मिटर उचाइका क्षेत्रसम्म सर्पहरू पाइने गरेका छन् र ती मध्ये अधिकांश तराई क्षेत्रमा बढी पाइन्छन् । नेपालको तराई भेगमा प्रत्येक वर्ष गर्मी तथा वर्षायाममा मात्र करीब २० हजार जनालाई सर्पले टोकेको पाइन्छ । ती मध्ये करीब १ हजारदेखि ३,२०० बिरामीहरूको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
पूर्वी नेपालका १० जिल्लामा गरिएको एक अध्ययन अनुसार वार्षिक ४,०७८ सर्पदंशका घटना मध्ये ९ प्रतिशत विषालु सर्पको टोकाइ भएको र मृत्युदर २१।३ प्रतिशत रहेको छ । हालैको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा पनि दैनिक १२ जना सर्पदंशका बिरामीहरू अस्पताल जाने गरेका छन् । आजकाल सर्पको टोकाइको बारेमा भएको जनचेतना र औषधीको उपलब्धताले गर्दा मृत्युदरमा कमी आएको छ । २० वर्ष अघि यस्तो मृत्युदर १८।७ प्रतिशत रहेकोमा हाल ६।६२ प्रतिशत मात्र छ । यदि सर्पदंशको उपचार सर्वसुलभ भयो भने सर्पको टोकाइबाट कोही पनि मर्नुपर्दैन जुन विशिष्ट उपचारबाट निको हुने समस्या हो ।
विश्वको तथ्याङ्क हेर्ने हो भने वार्षिक करिब २० लाख व्यक्तिहरू सर्पको टोकाइबाट पीडित हुन्छन्, ती मध्ये ८१,००० हजार देखि १,३८,००० व्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।बाँकी अन्य व्यक्तिहरूको कडा सङ्क्रमण हुने वा हात खुट्टा नै काट्नुपर्ने अवस्था छ । सबैभन्दा सर्पको टोकाइ बङ्गलादेश, नेपाल, भारत, पाकिस्तान र श्रीलङ्कामा हुने पाइएको छ ।
नेपालमा सर्पको टोकाइ प्रायः ग्रामीण बस्तीका न्यून आर्थिक अवस्था भएका व्यक्तिहरूमा हुने पाइएको छ । सर्पको टोकाइ एउटा अनपेक्षित खालको समस्या हो जसलाई आजसम्म खासै प्राथमिकतामा राखेको पाइँदैन तर यो तराई भेगमा निकै ठूलो समस्याको रुपमा रहेको छ र मृत्युदर बढी छ । यसरी लुकेर रहेको यो बिकराल समस्या समाधान गर्न निति निर्माताहरू लाग्नुपर्ने देखिन्छ ।
सर्पका प्रकारहरू
सर्पहरूको बनावट लगभग उस्तै हुन्छ तर सर्पको रङ्ग, कत्ला, आँखा र टाउकोको आधारमा सर्पहरू विभिन्न प्रकारका हुन्छन् भनी वर्गीकरण गर्न सकिन्छ । विषालु र विषरहित सर्प समेत यस्तै विशेषताका आधारमा छुट्याइन्छ । नेपालको तराइ भेगमा पाइने मुख्य विषालु सर्पहरू गोमन÷कोब्रा र करेट नै हुन् । विषालु सर्पलाई इलापिडे र भाइपरिडे गरी मुख्य दुई समूहमा वर्गीकरण गरिएको छ ।
ती मध्ये इलापिडे परिवारमा गोमन तथा करेट सर्प र भाइपरिडे परिवारमा भाइपर र पिट भाइपरहरू पर्दछन् । यी बाहेक नेपालमा पाइने केही अन्य प्रजातिका सर्पहरू यसप्रकार छन्–
१। विषालु सर्पः हरियो पिट भाइपर, रसेल भाइपर, करेट, कोब्रा वा किङ्ग कोब्रा ९गोमन सर्प०, क्याट स्नेक आदि ।
२। विषरहित सर्पः हरियो सर्प, तिब्बतियन पिट भाइपर, हिमालयन पिट भाइपर, पाइथोन
९विषरहित तर हानिकारक० आदि ।
३। अन्य सर्पः कुक्री सर्प, वोल्फ सर्प, कोरल सर्प, पानी सर्प आदि ।
नेपालमा हालसम्म ९० प्रकारका सर्पहरू पाइने गरेका छन् र ती मध्ये २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् । विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनसँगै सर्पहरू केवल तराई भेगमा मात्र सिमित नरही पहाडतर्फ समेत पाउन थालिएका छन् । अनुसन्धानले देखाए अनुसार विषालु सर्पको विष अझ बढी मात्रामा विषालु बन्दै गइरहेको अवस्था छ । कोब्रा वा किङ्ग कोब्रा सबैभन्दा बढी विषालु हुन्छ र यसले टोकेमा बढी परिमाणमा शरीरभित्र विष पठाइदिन्छ, जसका कारण श्वास प्रश्वासमा समस्या आइ बिरामीको मृत्यु हुने गर्छ । यो सर्प तराइभाग र ३ हजार ५ सय मिटर माथिका भागहरूसम्म नेपालमा पाइएको छ ।
सर्पसम्बन्धी सामाजिक तथा सांस्कृतिक मान्यता
हाम्रो समाजमा विभिन्न जातजातिका, फरक रितिरिवाज मान्ने र फरक धार्मिक सांस्कृतिक सम्प्रदायका मानिसहरू बस्ने गर्छन् । हिन्दू धर्ममा सर्पलाई शिव भगवानको अंश वा गहना भनी नागपञ्चमीको दिन विशेष पूजा गर्ने चलन छ भने अन्य पूजापाठमा पनि नागदेवताका नाममा सर्पको पूजा गरिन्छ । हिन्दु धर्मका ग्रन्थहरूमा अनन्तो, वासुकि, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट, शङ्ख, चाष्टौ, शेषनाग आदि नागहरूको वर्णन पाइन्छ र यी नागहरू पूजनीय हुन् जसलाई पूजा गर्नुपर्छ भन्ने मान्यता पाइन्छ । नागपञ्चमीका दिन यस्ता सबै नागहरूको विधिपूर्वक पूजाआजा गरी नागको चित्र घरको मुल ढोकामा टाँसेमा असाध्यै शुभ हुने र सर्पको टोकाइ नहुने समेत विश्वास गरिन्छ । हिन्दू धर्ममा यही दिनमा नागका मूर्ति र तस्बिरहरूमा पूजाआजा गरे निकै पुण्य हुने विश्वास गरी नागलाई प्रकृतिको एउटा अंशको रुपमा स्वीकार गरी यसको महत्व पुष्टि गरिन्छ ।
त्यसो त नेपालमा प्रकृतिको पूजा विभिन्न दृष्टिकोणले गर्ने चलन छ । बोटविरुवामा पिपल र तुलसीलाई विष्णु भगवानको अवतारको रुपमा पूजा गर्ने चलन छ । ढुङ्गा तथा शालिग्रामको पूजा गर्ने, नदीनालालाई पवित्र तिर्थाटन नै मान्ने, पशुमा गाई र कुकुरको पूजा गर्ने, पन्छीमा कागको पूजा गर्ने, सर्पको पूजा गर्ने जस्ता आदि चालचलनले नेपालीहरू प्रकृतिप्रेमी छन् भन्ने कुरा प्रष्ट हुन्छ । यसको साथै गुरुङ्ग समुदायमा त सबै वर्षको गणना समेत प्रकृतिका पशुपन्छीका नामका आधारमा गर्ने गरिन्छ भने अन्य विभिन्न धर्म सम्प्रदायमासमेत प्रत्यक्ष वा परोक्ष रुपमा प्रकृतिकै पूजा गर्ने चलन चलिआएको छ । पाश्चात्य समाजमा भने प्रकृतिलाई मानवलाई प्राप्त अथाह स्रोत साधनको खानी भनी व्याख्या गरिन्छ र अधिकांश रुपमा प्रकृतिको दोहन गर्ने गरिन्छ । सर्पकै सम्बन्धमा छोटो कुरा गर्ने हो भने अन्यथा नभएमा क्रिश्चियनहरूले सर्पलाई सबैभन्दा ठुलो सैतान वा शत्रु ठान्छन् र देखेमा मारिहाल्नुपर्छ भन्ने मान्यता राख्दछन् । त्यसो त हाल वातवारणीय दृष्टिकोणले सर्पलाई संरक्षण गर्नुपर्छ भन्ने अभियान र जनचेतना संसारभर चलिरहेको पाइन्छ ।सर्पलाई पारिस्थितिक प्रणाली सन्तुलन राख्ने प्राणी भनेर भनिन्छ किनकि सर्पले विभिन्न किट नियन्त्रण गर्न र बाली संरक्षण गर्न सघाएका हुन्छन् । आजकाल सर्पलाई संरक्षण गर्ने विभिन्न संघ संस्थाहरू पनि रहेका छन् ।
सर्पदंश ९सर्पको डसाइ० र प्राथमिक उपचार
सर्पदंश एक अनपेक्षित घटना हो, जुन जसलाई पनि र जहाँपनि हुनसक्छ । सर्पदंश भएमा नआत्तिई त्यसको पहिचान गर्ने र आवश्यक प्राथमिक उपचार गरी अस्पताल जाने हो भने अकालमा मर्नुपर्दैन । त्यसकारण यस्तो घटना घटिहाल्यो भने सर्वप्रथम विषालु सर्पले टोकेको हो वा विषरहित सर्पले टोकेको हो भनी यकिन गर्नुपर्दछ । यदि विषालु सर्पले टोकेको हो भने प्रष्टरूपमा गहिरा दुईवटा डोबयुक्त घाउ देखापर्छ र घाउबाट रगत बग्छ तर विषरहित सर्पले टोकेमा दुईवटा डोब नदेखिइ अरु धेरैवटा दाँतको डोब देखिन सक्छ । यदि विषालु सर्पले टोकेको रहेछ भने पनि फरकफरक खालका लक्षण देखिन सक्छन् । कुनै सर्पको टोकाइको विषको प्रभावले स्नायु प्रणाली र कुनै सर्पको विषले रगत बग्ने, रगत उल्टी गर्ने र मुटु फुटेर मृत्यु पनि हुनसक्छ । गोमन र करेट सर्पले टोकेर त्यसको विषको प्रभाव शरीरमा परिहालेमा स्नायु प्रणालीमा समस्या देखापर्छ । सुरुको समस्या भनेको आँखाको माथिल्लो ढकनी खोल्न नसक्नु हो त्यस अवस्थालाई एतयकष्क ९टोसिस० भनिन्छ । अनि डराउने, तर्सने, मुख खोल्न नसक्ने, जिब्रो चलाउन नसक्ने, निल्न नसक्ने, हात खुट्टा र अनुहारमा पक्षाघात हुने, सास फेर्न कठिनाई हुने, शरीर निलो देखिने, मुखबाट र्याल र फिँज निस्कने, बिरामी छटपटिने, चिच्याउन खोज्ने, पसिना आउने, उल्टी आउने, चक्कर लाग्ने, बेहोश हुने र छिटै मृत्युवरण गर्ने जस्ता लक्षणहरू देखिन्छन् ।
तसर्थ, सर्पले टोकिहालेमा के गर्ने र कसरी प्राथमिक उपचार गर्ने भन्ने सवालमा सबैजना चेतनशील हुनुपर्दछ । यदि सर्पले टोकिहालेमा टोकेको भाग वा अङ्ग नचलाई राख्ने, नदुगुर्ने, नआत्तिने, टोकेको ठाउँमा नकाट्ने बरु सक्दो छिटो साबुन पानीले राम्रोसँग घाउ सफा गर्ने, टोकेको ठाउँभन्दा माथि पर्नेगरी उपलब्ध छ भने क्रेप ब्याण्डेजले बाँध्ने नत्र रुमाल वा कपडाको टुक्राले हल्का बाँध्नुपर्छ र अङ्ग नचलाई स्थिर राख्ने अनि बिरामीलाई सान्त्वना दिँदै यथाशक्य छिटो अस्पताल लगिहाल्नुपर्छ । यसरी सामान्यरूपको प्राथमिक उपचार टोकेको स्थानमै गर्न सकियो भने बिरामीलाई विषको प्रभाव छिटो पर्दैन र अस्पताल पुर्याइ उपचार गर्न समय निकाल्न सकिन्छ । यी तरिकाहरू बाहेक अन्य खालका परम्परागत उपचार पद्धतिले बिरामीलाई छिटो विष लाग्ने र मृत्यु हुनसक्छ । सर्पले टोकेमा विष नलागेतापनि घाउमा सङ्क्रमण हुने, धनुष्टङ्कार हुनसक्ने, सङ्क्रमित भागको मासु सड्न सक्ने जस्ता आदि समस्याहरू थपिन सक्ने भएकोले त्यस्ता समस्या निराकरणका लागि समेत जस्तो सर्पले टोके पनि अस्पताल जानैपर्छ । सर्पदंश विज्ञ डा। छविलाल थापा मगरले धेरैजसो सर्पदंशका केसहरूलाई बचाउन सकिन्छ तर परम्परागत उपचार गर्ने र ढिलो अस्पताल पुग्ने कारणले धेरैले मृत्युवरण गर्नुपरेको गुनासो गर्नुहुन्छ । यसबाट पनि के बुझ्न सकिन्छ भने जुनसुकै सर्पले टोक्दा पनि हामी समयमै अस्पताल जानु नै सर्पदंशको उपचारमा महत्वपूर्ण कुरा हो ।
सर्पदंशको उपचार पद्धति र व्यवस्थापनका उपायहरू
नेपालमा सर्पले टोकेमा परम्परागत उपचार विधिबाट उपचार गर्ने चलन छँदैछ । परम्परागत धामी झाँक्रीले फुकेर, चुसेर, मन्त्र उच्चारण गरेर, विशेष प्रकारको ढुङ्गाको प्रयोग गरेर, बिरामीलाई बढी मात्रामा जाँड रक्सी खुवाएर, पिरो खुर्सानी खुवाएर, टोकेको ठाउँ माथि निकै बढी कसिने गरी बाँधेर, टोकेको भाग वा अङ्ग काटेर जस्ता आदि उपचार पद्धतिबाट उपचार गरिन्छ जुन अवैज्ञानिक उपचार पद्धतिका कारण पनि नेपालमा सर्पको टोकाइबाट हुने मृत्युदर बढी भएको हो । यस्तो मृत्युदर घटाउन सर्पको टोकाइबाट बच्ने र टोकी हालेमा प्राथमिक उपचार गरी विशिष्ट उपचारका लागि यथाशीघ्र अस्पतालमा जाने रणनिति अपनाउनु पर्छ । जुनसुकै सर्पले टोकेको किन नहोस् बिरामीलाई विषको प्रभाव देखापर्नासाथ उपचार सुरु गरिहाल्नुपर्छ । नत्र विषको प्रभाव कडा रुपमा देखापरिसकेपछि बाँच्ने सम्भावना कम हुँदै जान्छ र थप विशिष्ट उपचारको ९भेन्टिलेटरमा राखेर गरिने० जरुरी पर्छ । जुन सर्पदंशसम्बन्धी उपचारको गाइडलाइन नेपालमा २०१९ देखि लागू भएको छ ।
तर नेपालमा सर्पदंशका कारण अधिकांश व्यक्तिको मृत्यु हुने कारणमा परम्परागत उपचार विधिको प्रयोग गर्नु, अस्पताल ढिलो जानु, अस्पताल पुगे पनि दक्ष चिकित्सक उपलब्ध नहुनु, औषधीको अभाव हुनु, ग्रामिण भेगमा सर्पदंशको उपचार गर्ने अस्पताल नहुनु नै मुख्य चुनौतीका रुपमा रहेका छन् ।
अन्त्यमा,
सर्प पूर्वीय समाजमा पूजा गरी आदर प्रकट गरिने जीव हो तर यो ठुलो दुर्घटनाको कारण पनि हो । प्रायः सर्पले आफैं टोक्दैन भनिन्छ । सर्पले टोक्ने कारण आफूमाथि आइपर्न सक्ने सम्भावित खतराको कारणले हो भने कहिलेकाहीँ मानिसले अज्ञानतावश सर्पलाई छुँदा वा उसका बच्चा नजिक जाँदा टोक्न सक्छ । सर्पले टोकेर मृत्यु भइहाल्दैन किनकि संसारभर पाइने करिब ३ हजार सर्प मध्ये केवल ४ सय जति सर्प मात्र विषालु हुन्छन् र कहिलेकाहीँ विषालु सर्पले नै टोकिहालेमा पनि विष नखसेको हुनसक्छ र विष नलाग्न सक्छ ।यदि प्राथमिक उपचार समयमै गरियो, सान्त्वना प्रदान गर्न सकियो र छिटो माध्यमले सुविधासम्पन्न अस्पतालमा लैजान सकियो भने विषालु सर्पले टोकेतापनि बिरामीको बाँच्ने सम्भावना बढी हुन्छ । त्यसकारण लापरवाही नगरी, परम्परागत उपचारमा नलागी अस्पताल जाने बानीको विकास गर्न आजैदेखि सचेत बन्नु जरुरी छ ।
सर्पको टोकाइबाट बाँच्न विशेष सावधानी अपनाउने, खाली खुट्टा नहिँड्ने, रातिमा टर्चको उज्यालो लिएर मात्र हिँड्ने, सुत्ने बेला सबै कपडा चेक गर्ने, झुल लगाएर सुत्ने, जथाभावी झाडीमा नजाने, खेतबारीमा काम गर्दा होशियारीसाथ गर्ने जस्ता उपाय अपनाउन सके सर्पदंशका घटनाबाट जोगिन सकिनेछ ।
अस्तु
