दमक, १७ साउन–दमकमा शुक्रबार सर्पदंश रोकथामसम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । रोटरी क्लव अफ काठमाडौं मिडटाउन र नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा रोटरी क्लव अफ दमक र रोट्र्याक दमकको संयोजन र सहयोगमा दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
वर्षादको समयमा सर्पदंशका घटनाहरु धेरै हुने भएका कारण वर्षेनी हजारौको संख्यामा मानिसको मृत्युहुने गरेकाले त्यस्ता घटनालाई न्यूनीकरण गर्न यस्तो सचेतनामुलक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रायः सर्पदंशका घटनाहरु गरिव तथा आर्थिक विपन्न परिवारमा हुने गर्दछन् यसबाट वर्षेनी हजारौको संख्यामा मानिसको मृत्यु हुने रोटरी नेपाल भुटान डिस्ट्रिकका प्रोजेक्ट समितिका अध्यक्ष डा। निर्मल रिजालले बताउनु भयो ।
यसलाई न्यूनीकरण गर्नका लागि रातको समयमा झुल लगाएर सुत्ने, राति हिंड्दा उज्यालो लिएर हिड्ने, लामो लौराले ठ्याकठुक पार्दै हिंड्ने, घर वरिपरी सफा राख्ने सुझाव दिइएको छ । यस्तो अवस्थामा पनि सर्पले टोकिहाल्यो भने जतिसक्दो चाँडो नजिकको सर्पदंश उपचार केन्द्रमा पुग्न सकियो भने मृत्युको घटनालाई न्यूनीकरण गर्न सकिने डा। रिजालले बताउनु भयो ।
कार्यक्रममा रोटरी क्लव अफ काठमाडौं मिडटाउन सदस्य ईजावेल खड्का, कल्पना पराजुली तथा नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति प्रकाश बुढाथोकी, पूर्व अध्यक्ष लीला गुरागाई, डाक्टर सुर्यनारायण साह, किओच बाल अस्पतालका डाक्टर जयमणी श्रेष्ठ, निम्स नेशनल अस्पतालका डाक्टर बिक्रान्त बिक्रम खरेल, लगायत चिकित्सक, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
