हेम सुबेदी

दमक, २५ साउन–राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल दमक नगर समितिको ११औं नगर समिति अधिवेशनले हेम सुबेदीलाई पुनः नगर अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। हिजो (शनिबार) सम्पन्न अधिवेशनमा सुबेदीको नेतृत्वमा २१ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन भएको हो।

चयन भएका सदस्यहरूको पद भने पार्टीको आगामी बैठकमार्फत तोकिने भएको छ। अधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति गठन गर्दै संगठनलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

नगर अध्यक्ष सुबेदीको अध्यक्षतामा सम्पान्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित थिए। कार्यक्रममा उनले पार्टीको संगठन विस्तार, विचारधारात्मक स्पष्टता र जनतासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए। लिङ्देनले स्थानीय तहदेखि केन्द्रसम्मको संगठनात्मक सुदृढीकरणका लागि युवा र महिलाको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताए।

अधिवेशनमा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, प्रदेश सचिवद्वय वासुदेव भट्टराई र कुमार भट्टराई, केन्द्रीय सदस्य एवं पर्यवेक्षक ईनु अधिकारी, केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौला, प्रदेश संगठन विभाग प्रमुख जयबहादुर श्रेष्ठ, युवक संगठन केन्द्रीय सदस्यहरू बिक्रम सुब्बा र हरी तिवारीको उपस्थिति रहेको थियो ।

यसैगरी झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, जिल्ला सचिव कुमार थापा, प्रदेश सदस्यहरू राजु खड्का र कुमार बस्नेत, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कोशी प्रदेश संयोजक राजकुमार योङ्या, झापा क्षेत्र नं। ५ का अध्यक्ष भीम पौडेललगायतको पनि उपस्थिति थियो।

कार्यक्रममा विभिन्न वक्ताहरूले पार्टीको वर्तमान राजनीतिक यात्रा, आगामी निर्वाचनमा हासिल गर्ने लक्ष्य तथा संगठनलाई जनस्तरमा लोकप्रिय बनाउन अपनाइने रणनीतिबारे धारणा राखेका थिए। उनीहरूले विशेष गरी स्थानीय मुद्दामा जनताको आवाजलाई प्राथमिकताका साथ उठाउँदै समाधानका लागि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा पार्टिलाई योगदान पुर्याएका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *