दमक, २८ साउन–दमकमा मुख्य कार्यालय मेची बहुउद्धेश्यीय सहकारी संस्थाले आजदेखि २९औं बार्षिकोत्सव तथा ३१औं बार्षिक साधारणसभा सुरु गरेको छ । २८ साउनदेखि आयोजना हुने मेची बहुउद्धेश्यीय सहकारी संस्थाको बार्षिकोत्सव तथा बार्षिक साधारणसभा १२ भदौंमा माइन्यूट प्रमाणिकरणसहित सम्पन्न हुनेछ ।
आज (बुधबार) बिहान दमकस्थित मेची सहकारी भवनमा पत्रकार सम्मेलन गरेर संस्थाको २९औं बार्षिकोत्सव तथा ३१औं बार्षिक साधारण सभाका बारेमा जानकारी गराएको हो । मेची बहुउद्धेश्यीय सहकारी संस्थाको झापा, मोरङ र इलामसमेत गरेर १२ वटा सेवा केन्द्रहरु सञ्चालनमा आएको छ ।
दमकसहित झापाको कमल, विर्तामोड, कनकाई, गौरादह, शिवसताक्षीसहित मोरङको उर्लावारी, पथरी, मिक्लाजुङ, लेटाङ, बेलवारी र इलामको चुलाचुलीमा सेवा केन्द्रहरु छन् ।
दमकको रोयल पार्टी प्यालेसमा आजदेखि इकाइगत साधारण सभा सुरु हुने र आगामी भाद्र १२ गते निर्णय प्रमाणीकरण गर्दै २९औं बार्षिकोत्सव तथा ३१औं बार्षिक साधारणसभा सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको २९औं बार्षिकोत्सव तथा ३१औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनसहित संस्थागत महत्वकाक्षी योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका प्रकाशन उपसमितिका संयोजक नरपती पाण्डेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले मेची आवास २ निर्माण, मेची सहकारी विद्यालय, मेची सहकारी जल (पिउने पानी), सहकारी सदस्यका छोराछोरीहरु पिएचडी अध्ययनका लागि रु १ लाख सहयोग गर्ने लगायतका कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष भट्टराईका अनुसार मेची आभास निर्माणका लागि जग्गा खरिद गर्न ५ करोड रुपैयाँ, सहकारी बिद्यालय सञ्चालनको लागि २ करोड, मेची सहकारी संस्थाका सदस्य परिवारका छोराछोरीहरु पीएचडी अध्ययनका लागि १ लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।
त्यस्तैं, संस्थाका सदस्यका छोराछोरीबाट एसईईमा जिल्ला प्रथमलाई रु ५० हजार, ४ जिपिए ल्याउनेलाई रु २५ हजार दिनेसम्मका शैक्षिक प्रोत्साहन कार्यक्रम ल्याइएको अध्यक्ष भट्टराईले बताए ।
पत्रकार सम्मेलनमा संस्थाका बरिष्ठ उपध्यक्ष पदम थापा, दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायको उपस्थिति थियो ।
२९औं बार्षिकोत्सव तथा ३१औं बार्षिक साधारणसभामा बितरण गरिने प्रतिवेदनको सार्वजनिकरण गरिएको थियो । सो प्रतिवेदनमा सहकारीको शेयर पूँजी गत वर्षको रु ३७ करोड १८ लाख ९० हजार ४०० बाट बढेर यस वर्ष रु ३९ करोड ७० लाख १७ हजार ३०० पुगेको छ। बचत–निक्षेपमा २३.४८% वृद्धि भई रु ३ अर्ब ७८ करोड ७४ लाख ६२ हजार २५६ पुगेको छ, जसमा दीर्घकालीन बचत ६४.०९% र अल्पकालीन बचत ३५.९०% रहेको छ।
नगद तथा बैंक भण्डारमा झन्डै दोब्बर वृद्धि भई गत वर्षको रु ३८ करोड ३९ लाख २२ हजार ४०९ बाट यस वर्ष रु ७९ करोड ८४ लाख ९३ हजार ४४ पुगेको छ। स्थायी लगानी रु ५ करोड ३६ लाख ५९ हजार ६०० बाट बढेर रु ५ करोड ४२ लाख ५५ हजार ४०० पुगेको छ भने कर्जा लगानी ८.०६% वृद्धि भई रु ३ अर्ब ५६ करोड ३३ लाख २ हजार ९९०.८२ पुगेको छ।
सहकारीका कार्यकारी निर्देशक खोम बगालेका अनुसार तरलता वृद्धि भए पनि ऋण माग र भुक्तानी प्रवृत्तिमा केही कमजोरी देखिन थालेकोले संस्था अब उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने तयारीमा छ।
संस्थाका सचिव राजेन्द्र दाहालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा अध्यक्ष नारायण भट्टराई र प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले पत्रकारहरुको जिज्ञासा र सुझावहरुका बारेमा स्पष्ट पारेका थिए ।
