दमक, ३० साउन–झापाको कमल–२ देवीचौनस्थित इन्द्र लोहनी स्मृति विद्यालयमा आज (शुक्रबार) पुस्तकालय उद्घाटन गरिएको छ।
दमकस्थित थुलुङ डेन्टल क्लिनिककी सञ्चालिका दन्त रोग विशेषज्ञ डक्टर सोफिया थुलुङले सो विद्यालयमा पुस्तकालय निर्माण गरिदिएका छन् । सामाजिक सेवामा काम गर्न रुचाउने डाक्टर थुलुङले आफ्नो जन्मदिनलाई समेत लक्षित गरेर पुस्तकालयको उद्घाटन गरेकी हुन् ।
पुस्तकालयको उद्घाटन कमल गाउँपालिकाका प्रमुख हुुकुमसिंह राई र डाक्टर सोफिया थुलुङले संयुक्त रुपमा गर्नुभएको थियो ।
पत्रकारिता क्षेत्रका पुराना एबम् अग्रज पत्रकार इन्द्र लोहनीको स्मृतिमा स्थापना भएको सो विद्यालयमा अध्ययनरत सा–साना नानीबाबूहरुको अवस्थालाई मध्यनजर गर्दै पुस्तकालय निर्माण गरिदिएको डाक्टर थुलुङले बताईन् ।

डाक्टर थुलुङका अनुसार पुस्तकालयका लागि आवश्यक फर्निचरका सामाग्रीहरु, फुटबल दुई थान, भलिबल दुई थान, ब्याडमिन्टर एक थान, टेवल टेनिस, चेस बोर्ड दुई थान, लुडो दुई थान, क्यारामबोर्डसहित पाँचसय थान विभिन्न विषयका पुस्तकहरु विद्यालयलाई हस्तान्त्रण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यार्थीहरुमा पढ्ने बानी हराउँदै गएको र पुस्तकालयले पटनपाठन सस्कृतिको विकासमा योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि पत्रकार अनिलदेव राईले डक्टर थुलुङले विद्यालयमा डेन्टल क्याम्पमार्फत पनि योगदान दिएको र पुस्तकालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अभिरुची गराउनेमा विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा कमलनगर अस्पतालका प्रमुख दीपक दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर कार्की, विद्यालय इन्चार्ज कमल कटुवाल, थुलुङ डेन्टल केयरकी डक्टर हाङमा माखिम लिम्बू, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशीलगायतको उपस्थिति थियो।
विद्यालयका प्रधानाध्यापक हजेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पुस्कालय निर्माणकर्ता डक्टर सोफिया थुलुङलाई विद्यालयको तर्फबाट खादा र मालासहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
२०६५ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७५ जना विद्यार्थी अध्ययनरत छन्। सो अवसरमा प्रमुख अतिथिसहित अन्य अतिथी पाहुनाहरुलाई विद्यालयको तर्फबाट मायाको चीनोवापत गमला र फूल वितरण गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षिका डिजा घिमिरे र सञ्चालन सहायक प्रधानध्यापक भूमिका चापागाईंले गर्नुभएको थियो।

