झापा, ३१ साउन–सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर बुधबार रातिदेखि फरार एक कैदी आज बिहान बिर्तामोडमा पक्राउ परेका छन् ।

जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ जिल्ला चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल (खत्री) लाई बिर्तामोड १० स्थित बिराटपोखरबाट प्रहरीले पक्राउ गरेको प्रतिदिन अनालाइनमा खबर छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा बिराटपोखरमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई बिहान ६ बजे पक्राउ गर्न सफल भएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभएको हो ।

पौडेल विराटपोखरस्थित आफन्तको घरमा लुकेर बसेको राति नै प्रहरीले सूचना पाएको थियो । राति पक्राउ गर्न खोज्दा उनी भागेका थिए । रातिदेखिको प्रयासमा उनलाई बिहानीपख पक्राउ गर्न सफल भएको डीएसपी खड्काको भनाई छ ।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २१ साउन २०८१ मा कारागार चलान गर्न आदेश दिएको थियो। बलात्कार मुद्दामा सजाय तोकिएका पौडेल झुम्का कारागारबाट फरार भएपछि छानबिन समिति गठन गरिएको थियो ।

कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको पर्खाल नाघेर बुधबार बिहान २ बजेतिर खत्री फरार भएको चौकीदारले कारागार प्रशासनलाई जानकारी गराएका थिए।

पछिल्लोपटक २५ चैत २०८१ मा जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। अदालतको फैसला अनुसार सजाय भुक्तान गरिरहेका उनी फरार भएपछि छानबिन समिति बनाइएको थियो । कारागारको बी ब्लकबाट १६ फिट अग्लो पर्खाल नाघेर उनी भागेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *