काठमाडौं, ३१ साउन–रूपन्देही कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा राखिएको छ।

उनलाई अरू कैदीबन्दी राखेकै ब्लकमा राखिएको जेलर भीमराज कोइरालाले जानकारी दिए।

‘उहाँलाई अरू साथीहरू जसरी बसेका छन्, त्यसरी नै राखिएको छ। ढिलो पनि भयो, राति भयो छुट्टै ब्लकमा राखिएको छैन,’ उनले भने, ‘अहिलेलाई मिलेर बस्न भनेका छौं।’

उनलाई सिआरसी ब्लकमा राखिएको जेलर कोइरालाले बताए। उनका अनुसार त्यहाँ ४२२ कैदीबन्दी छन्।

शनिबार रविलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई सिधै नख्खु कारागार पुर्‍याइएको थियो।

नख्खु कारागारमा पुर्‍याउँदा बाहिर कार्यकर्ता र शुभचिन्तकहरूको भिड थियो।

लामिछानेलाई ल्याइने जानकारी पाएपछि दिउँसैदेखि नख्खु कारागार कार्यालय आसपास कार्यकर्ताहरू जम्मा भएका थिए।

लामिछानेलाई पुर्‍याइएपछि कार्यकर्ताहरूले नाराबाजी समेत गरेका थिए।

भिड अनियन्त्रित हुन नदिन प्रहरी पनि परिचालन गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *