एजेन्सी (काठमडौं), २ भदौं–इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलले विजयी सुरुवात गरेको छ।

नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड गएराति आर्सनलसँग १–० ले पराजित भयो। ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले गरेको एक मात्र गोल निर्णयक बन्यो।

युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए। पछिल्ला तीन सिजनमा उपविजेता रहेको आर्सनलका व्यवस्थापक मिकेल आर्टेटामाथि २००३–०४ यता पहिलो लिग उपाधि दिलाउन ठूलो दबाब रहेको छ।

युनाइटेडले फरवार्ड लाइन मजबुत बनाउन म्याथ्युज कुन्हा, ब्रायन एमबेउमो र बेन्जामिन सेस्कोलाई २० करोड पाउन्ड खर्च गरेर भित्र्याएको थियो। कुन्हा र एमबेउमोले राम्रो प्रभाव देखाए पनि गोल भने गर्न सकेनन्।

युनाइटेडले गत सिजन ३८ प्रिमियर लिगमा केवल ४४ गोल मात्र गर्न सकेको थियो र टोली १५ औं स्थानमा रहेको थियो। ५१ वर्षयता युनाइटेडको त्यो सबैभन्दा कमजोर प्रदर्शन थियो।

क्लब वर्ल्डकप विजेता चेल्सी पनि नयाँ सिजनको आफ्नो पहिलो खेलमै क्रिस्टल प्यालेसबाट गोलरहित बराबरीमा रोकिएको छ। स्टामफोर्ड ब्रिजमा एकै अंक मात्र बटुल्न सक्नु चेल्सीका लागि निराशाजनक सुरुवात रह्यो।

आइतबारकै अर्को खेलमा पहिलो हाफमा सम्भव तीन गोलको मद्दतले नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्‍यो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *