वर्षमान पुन

काठमाण्डौं, ४ भदौं–नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारूढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन्।

कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरूपयोग रोक्न माग गरेका हुन्।

गल्ती गर्ने जो कोही कानून र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो।

‘दुई ठूला पार्टीहरू सरकारमा हुनुहुन्छ। तपाईंहरूसँग बढी जिम्मेवारी छ। दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ’, पुनले भने।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षीविरूद्ध दुरूपयोग गर्ने कोसिस भइरहेको बताए।

आफ्नो दल सरकारमा हुँदा पनि आफूले विरोधीसँग प्रतिशोध साँध्न राज्य शक्तिको दुरूपयोग गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएको स्मरण पुनले गरे।

‘विगतमा आफ्नै पार्टीको सरकार हुँदा पनि मैले राज्यसत्ताको दुरूपयोग गरी कसैमाथि प्रतिशोध साँध्न मिल्दैन भनेको थिएँ,ु उनले भने, ‘सत्तापक्ष, पतिपक्षी वा आफैंभित्रको अर्को पक्षविरूद्ध राज्य प्रयोग गरिनुहुँदैन । यो म हिजो पनि भन्थेँ, आज पनि भन्छु।’

पुनले सरकारमा बसेर एउटा गल्ती ढाक्न अर्को गल्ती गर्दै जाने प्रवृत्ति छाडेर सच्चिन कांग्रेस र एमालेलाई आग्रह गरे।

माओवादी केन्द्र आफ्ना गल्तीहरूप्रति जनतासँग माफी माग्न तयार रहेको भन्दै पुनले विगतमा गल्ती सच्याउन तयार रहेको प्रतिबद्धता जनाए।

‘माओवादी केन्द्र आफ्ना गल्तीमा जनतासँग माफी माग्न र सच्याउन तयार छ। आफूले अवसर पाएका बेलामा ध्यान नपुगेका कुरा स्वीकार गर्न हामीलाई कुनै हिच्किचाहट छैन,’ उनले भने।

ठूला पार्टीमाथि जनताको प्रश्न रहेको चर्चा गर्दै उनले गठन भएको ६ महिनामा रास्वपालाई संसदको चौथो शक्ति बनाएर जनताले पुराना दलप्रति प्रश्न गरेको बताए।

लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता भए पनि पपुलिज्मको जगबाट उदाउने अतिजातीवादी र अन्धराष्ट्रवादीहरू विकल्प हुन नसक्ने उनको भनाइ थियो।

‘हाम्रो पार्टीको कोणबाट हेर्दा लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र हो, पार्टी सिस्टमको विकल्प झन राम्रो पार्टी सिस्टम र नेताहरूको विकल्प झन राम्रो नेताहरू हो’, पुनले भने, ‘सस्तो लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन। तर, हाम्रा विचार राजनीतिक, कामकारबाही र कार्यशैलीमा धेरै नै शुद्धीकरण जरूरी छ।’

पुराना पार्टी र नेताहरूले आफूलाई परिस्कार गरेर विचार, जानीति, र निष्ठाका साथ अघि नबढे मुलुकमा अहिलेको भन्दा थप निराशा छाउने पुनले उल्लेख गरे।

०९८, ००७, ०३६, ०४६, ०५२ र ०६३÷०६३ को संघर्षको इतिहाससँग जोडिएका दलहरूले विगतको ब्याजले मात्र अबको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो।

‘हिजो बलिदानको ब्याजले मात्र आजको राजनीति धान्न सकिँदैन। मान्छेले विश्वास गर्दैन,’ पुनले भने, ‘पुराना पुस्ताका नेताहरूप्रति हाम्रो पुराका पुरा सम्मान छ। पुराना नेताले विचार, राजनीतिक निष्ठा र संस्कार देखाउन जरूरी छ। पार्टीहरू र नेताहरू लोकतान्त्रिक संस्कारमा छन् भन्ने विश्वास दिलाउन नसकेको अवस्था छ। त्यो कुरामा आत्मालोचना गर्नैपर्छ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *