काठमाडौँ, १४ भदौं–कजाकिस्तान चेस फेडरेसनको सहयोगमा हिजो (शुक्रबार) देखि दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गर्ल्स चेस च्याम्पियनसिपमा शुरु भएको छ।

नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा पहिलो दिन सञ्चालन भएको बुद्धिचाल प्रतिस्पर्धामा नेपालका ५४४ युवा खेलाडीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।

खेल पूर्व नेपाल सरकार युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यू र विश्व बुद्धिचाल महासङ्घ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक एवं सुपर ग्रायण्ड मास्टर (जिएम) भिक्टोर बोलोगनले संयुक्त रूपमा प्रतियोगिता उद्घाटन गरेको थिए।

शुक्रबार, सम्पन्न स्पर्धामा नेपालका २१२९ रेटेड सीएम पुरुषोत्तम सिलवालले उत्कृष्ट खेल प्रदर्शन गर्दै शीर्ष स्थानमा रहन सफल भएका छन्।

नेपालका युवा १८ वर्ष मुनिको खेलमा १६८८ रेटेड अदिप गुरुङ, पभेलियन चेस एकेडेमीका १६९१ रेटेड अनुगमन गौतम, १६५३ रेटेड विशेष शाहि लगायतका ६ जना खेलाडीले पूर्ण अंक बनाउदै अग्रस्थानमा रहन सफल भएका छन्।

यस्तै, छात्रातर्फ युवा १६ वर्ष मुनि प्रतिमा बास्कोटा, पूर्णिमा गुरुङ, नबिना राई, यशस्वी शर्माले समान दुई अङ्क हासिल गर्दै अग्रस्थानमा रहन सफल भएका छन्। यसै समूहमा नेपालका ओलम्पियन खेलाडी रिया श्रेष्ठ र संस्कृति गजुरेलले बराबरी खेल्दै १।५ अङ्क प्राप्त गरी दोस्रो स्थानमा उभिएका छन्।

छात्रा युवा १४ वर्ष मुनि ललितपुर नाइटिङ्गेल स्कुलकी दिया श्रेष्ठ, भक्तपुर खोप्रिङ स्कुलकी श्रेष्ठ दुवाल र मोक्षदा स्कुलकी सुवानी बास्कोटा पूर्ण तिन तिन अङ्क प्राप्त गर्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्।

छात्रा युवा १२ वर्ष मुनि नयूमा मगर, भावना वोली, अनिषमा तामाङ, प्रविष्ट दवाडी, उज्जिवनि कँडेल, सान्वि पौडेल, ऐना शाही, निहाना श्रेष्ठ र प्रसिद्धि थापाले समान दुई अङ्क जोडेर अग्रस्थानमा रहन सफल भएका छन्।

छात्रा युवा १० वर्ष मुनि पेभिलियन चेस एकेडेमीका अग्रता आचार्य, फ्युचरस्टार एकेडेमीका ललितपुरका ग्लोसी श्रेष्ठ र अन्नपूर्ण स्कुलका दृष्टिना बस्नेत अङ्क जोडेर अग्रस्थानमा उभिन सफल भएका छन्।

छात्रा युवा ८ वर्ष मुनि महालक्ष्मी चेस एकेडेमी ललितपुरका शुभाश्री श्रेष्ठ र अन्नपूर्ण सेकेन्डरी स्कुलका सारा तामाङ समान ३ अङ्क जोडेर अग्रस्थान छन्। प्रतिस्पर्धामा युवातर्फ ८, १०, १२, १४ र १६ वर्ष छात्र तर्फका प्रतिस्पर्धाहरू जारी रहेका छन्।

काठमाडौँ स्थित अनाम नगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा सञ्चालन भएको बृहत चेस प्रतियोगितामा एफएसिआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभका साथै कजाकिस्तान चेस फेडरेसनका उपप्रमुख सुपर ग्रायण्ड मास्टर जिएम धर्मेन साद्भाकासोभको समेत उपस्थिति रहेको थियो।

यसैबीच, खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीले नेपाली मूलका विश्व शीर्ष खेलाडी अनिश गिरीलाई नेपाली मानार्थ नागरिकता दिनका निम्ति महासंघसँग समन्वय भइरहेको जानकारी गराएका छन्।

एकताका विश्वमा चेस खेल खेल्दै तहल्का मचाएका सुपरग्रान्ड मास्टर भिक्टर बोलोगनले नेपालमा युवा स्तरीय यस्तो बृहत प्रतियोगितामा उपस्थित हुन पाउँदा खुसी लागेको धारणा व्यक्त गरेका छन्।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले अतिथिहरुको स्वागत गर्दै नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने कार्यमा नेपाल सरकारको तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

उद्घाटन कार्यक्रम सञ्चालन गर्दै महासंघका महासचिव धर्मबहादुर लामाले नेपाली चेस द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन्।

महासङ्घका प्रवक्ता राजु ताम्राकारका अनुसार आजै बिहान नेपाल आइपुगेका सुपर ग्रान्ड मास्टर भिक्टर बोलोगन तथा अर्का सुपर ग्रायण्ड मास्टर धर्मेन साद्भाकासोभले २० जना नेपाली युवा खेलाडीहरूसँग एकैपटक सिमुलटानियस चेस खेलेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *