काठमाडौँ, २९ भदौ–नेपाल लोकतान्त्रिक खेलकुद संघको आकस्मिक बैठक सम्पन्न भई समसामयिक राजनीतिक घटना र देशव्यापी आन्दोलनका सन्दर्भमा गहन छलफलपछि चार बुँदे महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।

बैठकले नेपाली कांग्रेसका सभापति थथन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा आरजु राणा देउवा माथि हालै भएको हातपात र दुर्व्यवहारलाई असभ्य, अमानवीय र लोकतान्त्रिक संस्कृति विपरीतको घटना ठहर गर्दै घोर भर्त्सना गरेको छ। संघले उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

त्यस्तै, जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ। साथै आन्दोलनमा घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना व्यक्त गरेका छन्।

आन्दोलनकै क्रममा देशभरि भएको धनजनको क्षतिको सत्यतथ्य छानबिन गरी वास्तविक दोषी पहिचान गरी कानुन अनुसार कडा भन्दा कडा कारबाही गर्न जोडदार माग प्रस्तुत गरेको छ।

यस्तै, नेपाली कांग्रेस पार्टीको निर्देशन अनुसार अशोज ३ गते संविधान दिवसका दिन केन्द्रदेखि जिल्ला तहसम्मका सबै समितिहरूले विविध कार्यक्रमहरू आयोजना गर्न तथा सहभागिता जनाउन निर्देशन दिएका छन्।

देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, संवैधानिक अभ्यासको निरन्तरता र खेलकुद मार्फत् समाजमा एकता, शान्ति र जागरण फैलाउने अटल प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *