दमक, १५ असोज–आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको भवन पुनः निर्माण गरी प्रहरीहरुलाई पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् ।

प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरुलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिनुभयो । प्रहरीहरुलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतले स्वागत गर्नुभएको हो ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरुमा क्षति पुगेको थियो । सो घटनामा प्रहरीका पोसाक, हतियारहरुसमेत लुटिएको थियो । लुटिएका हतियार लगायत सामानहरु अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरु सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

आगजनी पछि यहाँका सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक–८ को अर्ग्यानिक सब्जी मन्डीको भवनमा अस्थायी रुपमा सरेका थिए ।

इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो । ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी ती कार्यालय पुनःस्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोगस्वरुप प्राप्त भएको थियो । प्रहरी पुनःस्थापित भएपछि यहाँको शान्तिसुरक्षा तथा अमनचयन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुरागाईंको भनाइ छ ।

क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घले पाँच लाख रुपैयाँ, दमक नगर इसाई समाजले दुई लाख १६ हजार ६५५ रुपैयाँ सहयोग रकम उपलब्ध गराएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जिल्लामा विस्थापित प्रहरी कार्यालयहरु स्थानीयहरुको सहयोगमा धमाधम पुनःस्थापित हुँदैछन् । जिल्लामा ६९ वटा प्रहरी कार्यालयसहित युनिटमा तोडफोड तथा आगजनी गरिएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *