वीरगन्ज, १५ असोज–वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवकको ज्यान गएको छ ।
पर्सा प्रहरीले दिएको जानकारी अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक रूप लिँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको हो । मृतकको पूर्ण सनाखत भने अझै हुन बाँकी छ ।
प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच विवाद सुरु भएको थियो । सोही विवाद राति झगडामा परिणत हुँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई नारायणी अस्पताल पुर्याइएको भए पनि राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धान जारी रहेकाले उनीहरूको नाम हाल गोप्य राखिएको छ । डिएसपी बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुल्न बाँकी छ भने नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको छ ।