केपी ओली

काठमाडौं, २५ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालयमा अल्पमतमा परेका छन् । एमालेका बहुसंख्यक पदाधिकारीहरु अध्यक्ष ओलीले ‘जेनजी’ विद्रोहको घटनाप्रति नैतिक जिम्मेवारी लिएर अध्यक्ष ओलीले पार्टीको नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

शुक्रबारबाट सुरू ५८औं सचिवालय बैठकमा यसअघि ओलीका पक्षमा उभिएका नेताहरु पनि उनको विपक्षमा खुलेका छन् । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित बहुमत पदाधिकारीले पार्टीलाई पुनर्गठन गरी नयाँ दिशातर्फ लैजान ओलीले अध्यक्षबाट मार्गप्रशस्त गर्नुपर्ने मत राखेका छन्।

‘जेनजी’ विद्रोहपछि यसअघि अध्यक्ष ओलीको पक्षमा उभिएका उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य अहिले ओलीको विपक्षमा स्पष्ट उभिएका छन् ।

यसअघि ओलीको पक्षमा उभिएका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरु लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ पनि ओलीले पार्टीको नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने पक्षमा उभिएका छन् ।

स्रोतका अनुसार उनीहरुले आपौचारिक तथा अनौपचारिक बसाई र बैठकहरुमा ओलीले पार्टीको नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने बताउदै आएका छन् ।

उपाध्यक्षहरु रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली यसअघिनै अध्यक्ष ओली पक्षमा थिएनन् । उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पुनर्गठनको पक्षमा उभिएका छन् । यसअघि उनी पनि ओलीको पक्षमा थिए ।

सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराई ओलीले प्रशस्त गर्नुपर्ने पक्षमा उभिएका छन् । उनीहरु यसअघि नै ओलीको विपक्षमा उभिएका हुन् । उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल ओलीको पक्षमा उभिएका छन् । उनीहरु यसअघि ओलीको ‘कोर’ समूहमा नै थिए । राज्य सत्ता र पार्टी सत्तामा उनीहरु नै निर्णायक र प्रभावी थिए ।

यसअघि अध्यक्ष ओलीले आफूले पार्टीको शिर निहुरेनी गरी केही काम नगरेको दाबी गर्दै नेतृत्व नछोड्ने बताएका थिए । ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई २२ असोजमा सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका थिए ।

भनेका थिए, ‘पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ । कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ। अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ । जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु ।’

बदलियो समिकरण
शुक्रबारको बैठकमा पनि ओलीले आफूविरुद्ध षडयन्त्र भएको ब्रिफिङ गरेका थिए । जेनजीका नाममा आफू नेतृत्वको सरकार ढाल्ने र एमालेलाई कमजोर पार्ने षडयन्त्र भएको तर्क ओलीले गरेका थिए । तर पदाधिकारीहरुले ओलीको षड्यन्त्रको दाबीलाई अस्वीकार गरीदिए ।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छिन् । युवाहरुको आन्दोलन, विद्रोहको भावनालाई आत्मसात् पार्टी अध्यक्षले राजीनामा दिनुपर्ने विचार शाक्यले राखेको एक पदाधिकारीले बताए । उपाध्यक्ष शाक्यको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘पार्टी अध्यक्षले राजीनामा दिनुपर्छ ।’

शाक्यले २३ र २४ को घटनालाई षडयन्त्र भनेर मात्र नहुने जिकिर गरिन् । ‘भोलिपल्ट सरकार जाँदैछ भन्ने पत्तो भएन । अनि षडयन्त्र भनेर मात्र हुँदैन,’ शाक्यले ओलीलाई भनिन्, ‘नैतिक जिम्मेवारी लिएर तपाईले सहज निकास दिनुस् । अरुलाई अगाडि बढाउनुपर्छ ।’

बैठकमा शाक्यले पोलिटव्यूरो सदस्य महेश बस्नेतले सार्वजनिक रुपमा बोलिरहेको कुराले पार्टीलाई फाइदा नहुने बताइन् । ‘किन यसरी बोल्न दिइदैछ ?,’ शाक्यको प्रश्न थियो, ‘यस्तो कुराले पार्टीलाई फाइदा पुगिरहेको छैन, ध्यान दिनुपर्नेछ ।’

शाक्यले आफ्नो बोल्ने पालोमा राखेको कुरालाई ओलीले तुरुन्तै जवाफ फर्काएका थिए । ‘अप्ठ्यारो पर्दा, संकट पर्दा अरु नबोल्ने रहेछन्,’ महेशको बचाउ गर्दै ओलीले भने, ‘पार्टीभित्रै उनै एउटा बहादुर रहेछन् । उही बोल्छ, उसैले काम गर्छ ।’

यसैगरी अर्का उपाध्यक्ष पौडेल दोष अरुलाई दिएर उम्कन नमिल्ने बताए । ‘सरकारको नेतृत्व हामीले गरिरहेका थियौं । तर सुरक्षाको जानकारी भएन, परिस्थितिको मूल्यांकन गर्न सकिएन,’ उपाध्यक्ष पौडेलले भने, ‘सावधानी अपनाउन सकेनौं । यसको कमजोरीको समीक्षा नगरी हुन्न ।’

कमजोरीको समीक्षा गर्दै पुनगर्ठित एमाले अबको कोर्ष हुने पौडेलको भनाई थियो । । पार्टी पुनर्गठनको प्रस्ताव गरिरहँदा उनले ओलीलाई साथ दिइरहेका महासचिव शंकर पोखरेलप्रति कटाक्ष नै गरेका थिए । ‘सधैं ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थितिको मूल्याकंन हुँदैन । यहाँ बोकेको ल्यापटपले तलको स्थिति बुझ्न सकिँदैन,’ पौडेलले भनेका थिए, ‘तलको परिस्थिति भनेजस्तो छैन ।’

अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले ओलीलाई बिदा लिन आग्रह गरे । भने, ‘जसले आन्दोलन गरे, उनीहरूको माग तीन जनाले ९शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड० बिदा लिनुपर्छ भन्ने थियो । अस्ति त सत्ताबाट हटाए । अझै अटेर गरियो भने उनीहरूले अर्को अभियान शुरु गर्न बेर छैन । यो कुरा हामीले बुझ्नुपर्छ ।’

उनले षड्यन्त्र बुझ्न नसक्नु पनि कमजोरी भएको बताए । भने,‘कसको विरुद्ध षडयन्त्र भएन रु षडयन्त्र चिरेरै सत्ता चल्दै आएको बिर्सन मिल्दैन । हुन्छ र भइरहेको छ भन्ने बुझ्न नसक्नु कमजोरी हो ।’ बैठकमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली पनि ओलीको बचाउ गरेका थिए ।

घटनाको जिम्मेवारीबाट अझै पन्छिरहेका छन् ओली
पदाधिकारीहरुले अध्यक्ष ओलीले घटनाको जिम्मेवारी लिनुपर्छ भने पनि अझै जिम्मा लिएका छैनन् ।

ओलीले संविधान दिवसको दिन एक विज्ञप्ति निकालेर जेनजी युवा आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिइएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए । घटनाको जिम्मेवारीबाट उनी पन्छिएका छन् ।

ओलीले ५ मिनेट मात्रै ढिला भएको भए प्रर्दशनकारीहरुले आफूलाई मार्ने बताएका थिए। ओलीलाई २४ गतेको विद्रोहमा सैनिक हेलिकोप्टरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भगाएर सैनिक ब्यारेक शिवपुरि लगिएको थियो ।

ओलीले भनेका छन्, ‘५ मिनेट मात्रै ढिला गरेको भए मलाई चहिँ मार्ने नै थिए । शेरबहादुरजीलाई घाइते बनायो, मलाई चहिँ मार्ने नै थिए । मैले आफ्नो तयारी गर्न पाइँन । मलाई सेक्युरीटिमा अलिकति भरोषा भयो । सेक्युरीटिले हामीले केही गर्न सक्दैनौं भन्यो । अन्तिममा सेनाले भगाईसम्म दियो ।’

प्रधानमन्त्रीले राजीनामा नदिए सेनाले रेस्क्यु गर्न नसक्ने बताएपछि ओलीले २४ गते दिउँसो २ बजे राजिनामा दिएका थिए । राजीनामालगत्तै ओली, उनकी पत्नी राधिका शाक्य र मुख्य सल्लाहकार विष्णु रिमाललाई सेनाले दिउँसो ०२स्३० बजे हेलिकोप्टरमा शिवपुरीस्थित स्टाफ कलेजको ब्यारेकमा लगेको थियो ।

बालुवाटारमै रहेका उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई भने माथिको आदेश भन्दै त्यहीँ छोडेको थियो । उनीहरू प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षित भएका थिए ।

२३ भदौमा १९ युवाको ज्यान गएपछि २४ भदौको बिहानैदेखि आन्दोलन चर्किएको थियो । बिहान १० बजे मुख्यसचिव एकनारायण अर्याल प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा गृह मन्त्रालयमा बैठक बसेर प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका थिए ।

उनीहरूले पनि परिस्थिति असामान्य बन्दै गएकाले राजनीतिक निकासका लागि सुझाव दिए । तर, ओली उल्टै आक्रोशित भएका थिए । भनेका थिए, ‘राजनीतिक निकास भनेको राजीनामा रु सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने रु अनि प्रधानमन्त्रीले राजनीतिक निकास दिने रु तपाईंहरूको परिभाषित जिम्मेवारी जे हो, त्यो पूरा गर्नोस्, स्थिति ठीक हुन्छ । म यहाँ बस्ने कुर्सी ओगट्न होइन, राष्ट्रको चुनौती पूरा गर्नका लागि हो । तपाईंहरुले पनि त्यो पूरा गर्नोस् ।’

राजीनामा दिएर निकास दिन प्रधानसेनापतिले आग्रह गरेपछि ओली थप आक्रोशित बनेका थिए । प्रधानमन्त्री आक्रोशित भएपछि निराश सुरक्षा प्रमुखहरू प्रधानमन्त्रीको बैठक कक्षबाट सडक प्रदर्शनको जानकारी लिन थाले । बाहिर स्थिति भयावह भइसक्यो भने रिपोर्ट आइरहेको थियो ।

त्यसपछि मुख्यसचिव र प्रधानसेनापतिले अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका सल्लाहकार रिमालसँग प्रधानमन्त्रीले राजीनामा नदिने हो भने थाम्न सकिँदैन भनेका थिए । उनी राजीनामा नदिएरै बालुवाटारबाट सुरक्षित स्थानतिर जाने तयारीमा थिए । तर, सेनाले राजीनामा नदिई उनलाई रेस्क्यु गर्न मानेन । अनि बल्ल २ बजेतिर ओलीले राजीनामापत्रमा हस्ताक्षर गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *