केर्खा, १० कार्तिक–१६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४१औ जन्म जयन्तीमा झापाको कमल गाउँपालिका वडा न ३ केर्खास्थित फाल्गुनन्द टोलमा निर्मित किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन गरिने भएको छ ।

माङहिम समितिले आइतवार पत्रकार सम्मेलन गरी आगामी कात्तिक २५ गतेका दिन मनाईने फाल्गुनन्द जन्मजयन्तीमा नवनिर्मित माङहिमको उद्घाटन , महागुरुको पूर्ण कदको शालिक अनावरणसहितका धार्मिक कार्यक्रमहरु गरि भव्य रुपले मनाईने जनाएको छ ।

माङहिम परिसरमा आयोजित पत्रकार सम्मेलनमा समितिले माङहिम उद्घाटनसहितका धार्मिक कार्यक्रमको तयारी धमाधम भईरहेको समितिका अध्यक्ष सुर्यप्रसाद यक्पाङदेनले बताए । उनका अनुसार माङहिम उद्घाटन गर्न किरात धर्म गुरु आत्मनन्द लिङ्गदेन र गुरुआमा पवित्रा हाङ्गमा साँवा लिङ्गदेनको विशेष उपस्थिति रहने छ ।

माङहिम निर्माण गर्न स्थानीय जग्गादाता दलबहादुर मेन्याङ्गवोले करिव ९० लाख मूल्य बराबरको ३ कठ्ठा जमिन निशुल्क उपलब्ध गराएका थिए ।

२०७२ सालमा जग्गादाताद्धारा शिलान्यास गरिएको माङहिम करिव १० वर्षपछि सञ्चालनमा आउन लागेको हो । यहाँ निर्मित माङहिम देशभरिका माङहिमहरु मध्ये धेरैभन्दा अग्लो रहेको माङहिम समितिको दावी छ ।

५३ फिट अग्लो नौ तलाको माङहिम बनाउन करिव ८९ लाख रुपैया खर्च भएको समितिका कोषाध्यक्ष लाखबहादुर मावोले बताए । उनले माङहिम बाहेक २२ लाख रुपैयाको लागतमा यज्ञकुण्ड र ४१ लाख रुयैयामा महागुरु फाल्गुनन्दको ९ फिट अग्लो पूर्णकदको शालिक निर्माण गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा किरात तियेङलुङ चोलुङ माङहिमका सचिव नर बहादुर लिङदेन, किरात धर्म तथा सहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङ्गहाङ्ग, माङहिम समितिकी सदस्य विष्णु बेघा, सल्लाहकार सदस्य धनबहादुर मावो लगायतको माङहिमका विषयमा बोलेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *