काठमाडौँ, १० कार्तिक–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कुनै हालतमा पनि विभाजित नहुने दाबी गरेका छन् ।
आज (सोमबार) सञ्चारकर्मीहरूसँग संवाद गर्दै कांग्रेस महामन्त्री शर्माले पार्टीभित्र भइरहेको छलफल र विचार विमर्शलाई लिएर अनावश्यक हल्ला फैलाइएको उल्लेख गरेका हुन् ।
महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी सहज छलफल र समझदारीमार्फत निष्कर्षमा पुग्छ। कसैले पार्टी विग्रह होला भनेर सोच्नुपर्ने अवस्था छैन । कांग्रेस एक ढिक्का रहन्छ । बदलिएको परिस्थितिबमोजिम आफूलाई र समाजलाई बदल्दै अघि बढ्नेछ।’
उनले पार्टीभित्र फरक मत र विचार हुनु स्वाभाविक र लोकतान्त्रिक प्रक्रिया भएको बताए। ‘जहाँ फरक मत आउँछन्, फरक विचारहरू आउँछन् । तर अन्ततः पार्टी एक भएर अघि बढ्छ’ उनको भनाइ छ ।
महामन्त्री शर्माका अनुसार पार्टीभित्रको यो बहस लोकतन्त्रको अभ्यास हो र यसबाट कांग्रेस अझ मजबुत भएर अघि बढ्नेछ। साथै उनले शुभचिन्तक र कार्यकर्तालाई धैर्य र समझदारीपूर्वक अगाडि बढ्न अनुरोध गरेका छन् ।

