काठमाडौँ, १५ कार्तिक–जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज बिहान धेरै स्थानमा हल्कादेखि मध्याम वर्षा भए पनि अपराह्नबाट बिस्तारै खुल्दैै गएको र साँझ देशका धेरै स्थानमा मौसम सुधार भई वर्षा रोकिएको थाहाखबरलाई जानकारी दिए।

बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कायम हुँदा आज पनि देशका धेरै ठाउँमा वर्षा भएको उनले बताए। यो अवस्था सुधार हुने क्रम जारी रहेको र आइतवार भने आजको तुलनामा धेरै नै सुधार हुने अधिकारीको भनाइ छ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटनका क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यसपालि मोन्था चक्रवातको प्रणालीमा अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा ठूलो क्षेत्रको धानबालीमा क्षति पुगेका छ।

यस्तै, भारी हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा नराम्ररी प्रभावित भएको छ। नेपालमा यही कात्तिक १३ गतेदेखि वर्षाले जनजीवन प्रभावित भइरहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *