महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ, १५ कार्तिक–नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा विभाजनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भिन्न विचार र मतहरूलाई लोकतान्त्रिक अभ्यासको स्वाभाविक पक्ष भन्दै पार्टी एकताबद्ध रहन्छ भन्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार नेपाली काँग्रेस भित्र मतभेद नयाँ कुरा होइन र यसले सङ्गठनलाई सुदृढ बनाउन मद्दत गर्ने विश्वास छ । ‘पार्टीमा विचारका विविधता हुनु स्वाभाविक हो । तर त्यसले फुट निम्त्याउँछ भन्ने कुरा कल्पना गर्नु हुँदैन । हामी छलफल र सहमतिमार्फत साझा निष्कर्षमा पुग्छौँ,’ शर्माले भने।

महाधिवेशनको तयारी र मिति निर्धारणबारे पार्टीभित्र उठेका मतभेदका विषयमा उनले महासमिति सदस्यहरूको रायलाई निर्णयको आधार बनाउनु पर्ने बताएका छन् । उनले भने, ‘कसको सुझाव मान्ने भन्ने बहसभन्दा पनि सबै संरचनाको सल्लाहका आधारमा सहमति बनाउनुपर्छ। महासमितिको सुझाव केन्द्रीय निर्णयको मार्गदर्शन बन्न सक्छ।’

आगामी बैठकमा सहमतिपूर्ण प्रस्ताव लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले थपे, ‘महाधिवेशन प्रतिनिधि र केन्द्रीय समितिको बहुमतलाई सन्तुलित गर्दै महासमितिको माध्यमबाट डिजिटल प्रणालीद्वारा निर्णय गर्न सकिन्छ ।’

उनले पार्टी एकताको भावनासँगै लोकतान्त्रिक प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *