दमक, १६ कार्तिक–झापाको दमक–५ स्थित शान्ति टोल विकास संस्थाले तिहारमा खेलेको देउसीभैलीको रकमबाट टोलमा सीसी क्यामेरा जडान गरेका छन् । शान्ति टोलको सुरक्षाका लागि संस्थाले १५ वटा सीसी क्यामेरा जडान गरिएको अध्यक्ष निरज विष्टले बताएका छन् ।
संस्थाले गएको वर्ष र यो वर्ष गरि तिहारका समयमा देउसीभैली सञ्चालन गरेको थियो । देउसीभैलीबाट रु १ लाख ५० हजार संकलन भएको र त्यही रुपैयाले सीसी क्यामेरा खरिद गरि जडान गरिएको उनले जानकारी दिए । टोलमा ६७ घरधुरी आवद्ध छन् । ती सवै घरधुरीको सुरक्षामा सघाँउ पुरयाँउने हेतुले क्यामेरा जडान गरिएको अध्यक्ष विष्टको भनाई छ ।
उनका अनुसार टोलमा जडित सीसी क्यामेरा डवल लेन्ससंगै नाइट भिजनसम्मको क्षमतायुक्त भएकाले यसको प्रभावकारी बढ्ने विश्वास गरिएको छ । उनी भन्छन् –‘सीसी क्यामेराको निरानीले टोलमा हुने चोरी,लुटपाट लगायतका अपराधिक घटना नियन्त्रणमा आउने छ । ’
२०६३ सालमा स्थापना भएको यस संस्थाले आन्तरिक स्रोत जुटाएर सीसी क्यामेरा जडान गर्ने टोलविकास संस्थाहरु मध्ये शान्ति टोल विकास संस्था पहिलो भएको संस्थाको दावी छ ।
यसैगरि, संस्थाले टोलबासीको विभिन्न मानवीय तथा सामाजिक कामकाजका लागि टोल सुधार कोष स्थापना गरिएको छ । कोषमा अहिले १ लाख जम्मा गरिएको छ । अध्यक्ष विष्टले कोषमार्फत टोलमा आउने विविध कार्यमा आवश्यकता अनुसार खर्च गरिने बताए ।
संस्थाले टोललाई नगरकै उत्कृष्ट टोल बनाउन सीसी क्यामेरा जडान संगै स्वच्छ ,हराभराका रुपमा विकास गर्न जोड दिदैआएको अध्यक्ष विष्ट बताउँछन् ।
