शेरबहादुर देउवा

काठमाडौं, १७ कात्तिक–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट चार जना केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले फागुन २१ को निर्वाचन अगाडि नै महाधिवेशन गरेर नयाँ नेतृत्व छानिसक्नुपर्नेमा जोड दिएका छन्।

सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसका विभिन्न समूह र गुटहरूसँग गरेको छलफलमा उनीहरूले यस्तो जोड दिएका हुन्।

महाधिवेशन सम्पन्न नगरी निर्वाचनमा जान नहुनेमा जोड दिने देउवानिकट ती कार्यसम्पादन समिति सदस्यहरू फरमुल्लाह मन्सुर, रमेश रिजाल, जिपछिरिङ लामा र भिष्मराज आङदाम्बे हुन्। मन्सुर र आङदम्बे सहमहामन्त्री हुन्।

त्यस्तै सहमहामन्त्री डिना उपाध्यायले पनि यसअघि नै महाधिवेशनको विवाद टुंग्याएर निर्वाचनमा जानुपर्ने बताइसकेकी छन्।

सोमबार भएको छलफलमा सुजाता कोइरालाले पनि महाधिवेशन गरेर नयाँ नेतृत्वमा कांग्रेस निर्वाचनमा जानुपर्ने बताइन्।

‘पुराना अनुहार लिएर अब निर्वाचनमा जान सकिँदैन,’ कोइरालालाई उद्धृत गर्दै छलफलमा उपस्थित एक नेताले भने।

केन्द्रीय कार्यसमिति तत्काल बस्न नसकेको अवस्थामा कार्यसम्पादन समितिले बैठक गरेर निर्णयहरू लिने गर्छ। र, कार्यसम्पादन समितिले गरेको निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्य रहने विधानको व्यवस्था छ। सभापतिसहित १४ जना पदाधिकारी, केन्द्रीय सदस्य मध्येबाट ३१ जना सदस्य र प्रवक्ता सदस्य रहनेछन्। अहिले कार्यसम्पादन समिति ३७ सदस्यीय छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *