नेकपा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा

काठमाण्डौं, १८ कार्तिक–नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा समातिएका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई प्रहरीले भर्खरै धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले पासाङ पक्राउ परेको पुष्टि गरे । एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत रहेका उनीविरुद्धको बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गत वर्ष दोषी ठहर गरेको थियो ।

पासाङकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी थिइन् । जिल्ला अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएकोमा त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । उच्चले जिल्लाको फैसला सदर गरे पनि राजनीतिक संरक्षणमा उम्किंदै आएका उनी अहिले केपी ओलीको सुरक्षामा खटिएका छन् ।

एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकमा ओलीविरुद्ध बोल्ने सबै विदेशी दलाल हुन् भन्दै उग्र भाषण गरेका उनी विवादित पृष्ठभूमिका पात्र हुन् । गत वर्ष केन्द्रीय कार्यालय च्यासलमा नाङ्गो खुकुरी नचाएका उनले संविधानसभा सदस्य हुँदा दलाइ लामालाई भेटेको चर्चा थियो।

शनिबार गुन्डुमा बसेको एमाले सचिवालय बैठकमा सचिव योगेश भट्टराईले यसबारे प्रश्न उठाउँदै पासाङलाई केन्द्रीय सदस्य र जनजाती महासंघको अध्यक्षबाट निलम्बन गर्न माग गरेका थिए । तर, मुद्दा लाग्दैमा कोही दोषी नहुने भन्दै ओली बचाउमा उत्रिएपछि चर्काचर्की परेको थियो ।

दिवंगत नेता सुवास नेम्वाङ र आफूलाई समेत मुद्दा लागेको भन्दै ओलीले पासाङको पक्षमा अडान लिएपछि योगेशसहित केही सचिवालय सदस्यले आपत्ति जनाएका थिए ।

जन आस्था/कात्तिक १८, २०८२

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *