काठमाडौँ, १८ कार्तिक—नेपाल वायुसेवा निगम (एयरलायन्स) को सञ्चालक समितिको अध्यक्षमा विक्रम राई नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष राईलाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले पद तथा गोपनीयताको शपथ गराएको राईले बताए ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल तिहारमा सकिएपछि निगम नेतृत्वविहीन थियो । संचालक समितिमा उपाध्यक्षको भूमिकामा रहेका राईलाई शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले अध्यक्ष नियुक्त गरेको राईले बताए । प्रसादी एकेडेमी तथा हाम्रो होलिडेज प्रालिका संचालक राईलाई तत्कालीन पर्यटनमन्त्री सुदन किरातीले संचालक समितिमा सदस्य नियुक्त गरेका थिए ।
शपथपछि मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले निगमलाई सुधारको बाटोमा अगाडि बढाउन, व्यवस्थित पद्धतिको थालनी गर्नु, अध्यक्ष राई र निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलाई निर्देशन दिएकी थिइन् ।
उनले निकट भविष्यमै ठोस उपलब्धिमूलक कार्यमार्फत निगमको सुधार र प्रगतिमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

