उर्लाबारी, २० कार्तिक–मोरङ प्रहरीले जिल्लाको दुई फरक स्थानबाट लागुऔषध ओसारप्रसारमा प्रयोग भएको एम्बुलेन्ससहित चारजनालाई पक्राउ गरेको छ।

प्रहरीले एम्बुलेन्समा भारत तस्करी गर्न लागेको ३३ केजी गाँजासहित दुईजना र भारतीय नम्बर प्लेटको स्कुटरमा खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको हो।

लागुऔषध ब्युरो विराटनगरको सहयोगमा मोरङ प्रहरीले बुधबार राति १० बजे मोरङको सीमावर्ती जहदा गाउँपालिका–३, हात्तीबन्दाबाट स १ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा भारततर्फ तस्करी गर्न लागेको ३३ केजी ६१० ग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा एम्बुलेन्सचालक विराटनगर महानगरपालिका–५, कोचाखल बस्ने ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्सलाई अघि लैजाने को ३१ प ८८८९ नम्बरको मोटरसाइकलचालक जहदा गाउँपालिका–३, हामिबन्दा बस्ने ३२ वर्षीय मदनलालकुमार राजवंशी छन्।

यसैगरी, बुधबार साँझ करिब ६ बजे विराटनगर–५, पुलचोकनजिक हुलाकी सडकमा भारतीय नम्बरको स्कुटर चेकजाँच गर्दा ५३ ग्राम खैरो हेरोइनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–२ का १९ वर्षीय विकासकुमार यादव र भारत बिहार पूर्णिय जिल्ला भीमनगरपुरका १९ वर्षीय कृष्णकुमार देव रहेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *