काठमाडौँ, २० कार्तिक–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताले गरेको आन्दोलनका माग पूरा नभए ठूलो स्तरको विद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।
बिहीबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै चन्दले सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरे । उनले कार्की नेतृत्वको सरकारले रहस्यमय तरिकाले गठन भएको दाबी गर्दै त्यसपछिका चालहरूमा षड्यन्त्र रहेको दाबी गरे ।
चन्दले जेनजी आन्दोलनले नेपालको संसदीय व्यवस्थाको विफलता प्रमाणित गरेको बताउँदै संसद विघटनपछि कुशासन र भ्रष्टाचारको मारामारीले देश लुट्ने समूहहरू सक्रिय भएको हुँदा अब जनता त्यस विरुद्ध उठ्नुपर्ने उनको भनाइ थियो ।
उनले संविधान संशोधन वा पुनर्लेखन आवश्यक रहेको उल्लेख गर्दै राज्यको पुनर्संरचना जनताको हित र राष्ट्रिय आवश्यकतालाई प्राथमिकतामा राखेर गर्नुपर्नेमा जोड दिए ।
महासचिव चन्दले जेनजी आन्दोलनका मागप्रति राजनीतिक दलहरू गम्भीर नहुनुले देशलाई फेरि अस्थिरतातर्फ धकेल्ने खतरा देखिएको बताएका हुन् ।

