बिर्तामोड, २१ कात्तिक–झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

खेलको सुरुवाती मिनेटदेखि नै दुबै टिमबीच बराबरी प्रतिस्पर्धा देखिएको थियो । २४ औँ मिनेटमा पुलिसले कर्नर किकबाट गोलको अवसर पाएको थियो । पूजा रानाले दिएको कर्नरमा आएको सटलाई संकटाकी गोलकिपर सुशीलाकुमारी चौधरीले उत्कृष्ट बचाउ गरेकी थिइन् ।

३० औँ मिनेटमा संकटाले उत्कृष्ट मौका गुमायो । भुटानी खेलाडी छिरिङ वाङग्देनले दिएको क्रसमा पूर्णिमा राईले डिबक्सभित्रबाट हेडर गर्न खोजे पनि सफल हुन सकिनन् । पहिलो हाफको इन्ज्युरी समयमा पनि संकटाले अग्रता लिने मौका पाए पनि सेनुले दिएको क्रसमा छिरिङको सट गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । यस संस्करणको प्रतियोगितामा पहिलोपटक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

७० औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । करिब ३० यार्ड टाढाबाट पूजा रानाले दिएको फ्रिकिकमा मिना देउबाले सटिक हेड मार्दै गोल गरिन् । त्यसपछि ८२ औँ मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । संकटाकी कप्तान यशोदा शाहीले बल क्लियर गर्न नसक्दा रेखा पौडेलले मौका सदुपयोग गर्दै दोस्रो गोल गरिन् ।

खेलको अन्तिम मिनेटमा फर्वाड सम्झना लावतीले वान–भर्सेस–वानको सुनौलो मौका गुमाइन् । इन्ज्युरी समयको अन्त्यतिर संकटाले सान्त्वना गोलको अवसर पाए पनि सेनुको सट गोलपोस्ट नजिकैबाट बाहिरियो ।

२–० को जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले अब उपाधिका लागि फाइनलमा भोलि हुने एपिएफ र त्रिभुवन आर्मीबीचको विजेतासँग सामना गर्नेछ ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी रेखा पौडेल भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *