काठमाडौँ, २१ कार्तिक—कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लब, प्रगतिशील अभियानका नेता र मोओवादीका पूर्व उपमहासचिव जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भुसालले वामपन्थीसहित बृहत् मोर्चाबन्दी गर्ने संकल्प गरेका छन्।
तीन नेताले शुक्रबार छलफलपछि जारी गरेको संयुक्त वक्तव्यमा पुराना राजनीतिक दलहरू र तिनका नेताबाट नयाँ गन्तव्यमा पुग्न नसकिने भन्दै बृहत् मोर्चाबन्दी गर्ने सहमति गरेका हुन्।
‘मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कट ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन्। त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कततर्फ धकेल्ने कुरा निश्चित छ। पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन भन्ने कुरा स्वतः स्पष्ट छ,’ चन्द, शर्मा र भुसालको साझा निष्कर्ष छ।
उनीहरूले यसका लागि आफूहरू एकताबद्ध भएर अगाडि बढ्न समेत संकल्पबद्ध भएको जनाएका छन्। ‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै, एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएका छौं। सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि आह्वान गर्दछौं।’
उनीहरूले मुलुकको निराशा चिर्न पनि बृहत् मोर्चा आवश्यक भएको बताएका छन्। ‘राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ,’ तीन नेताको भनाइ छ।
‘राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चाबन्दीका लागि पहलकदमी लिनु आवश्यक छ।’ प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चाबन्दीका लागि पहलकदमी लिनु आवश्यक रहेको उनीहरूको भनाइ छ।
उनीहरूले आलोपालो सत्तामा रहेका दलहरूका कारण जेन(जी विद्रोह भएको भन्दै पछिल्लो घटनाक्रमले मुलुकलाई अन्यौलग्रस्त दिशामा अघि बढाएको बताएका छन्।
‘सत्तासीन नेताहरू गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरूले खेल्नु पर्ने भूमिका कमजोर हुँदै गएका थिए। यसले गर्दा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरू जनताबाट टाढा भए। दलहरूमा सुधारका प्रयास असफल हुँदै गएका थिए,’ उनीहरू भन्छन्।
उनीहरूको अनुसार, जसले गर्दा ती दलहरूले गत भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गते भएको विध्वंसलाई थेग्न सकेनन्। ‘लोकतान्त्रिक मूल्य मान्यताहरू एकसाथ खतरामा परेका छन्। विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् अन्योलग्रस्त बनाएको छ। राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन्। राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ,’ चन्द, शर्मा र भुसालले बताएका छन्।
