काठमाडौं, २२ कार्तिक–नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। मुटुमा समस्या देखिएपछि आलमलाई केही दिनअघि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (सीएमसी) अस्पताल भर्ना गरिएको थियो।
गएराति २ः ५८ बजे उनको मृत्यु भएको चिकित्सकले जनाएका छन् । पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिसकिएको सुरक्ष स्रोतले जनाएको छ।
गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ।
उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।
उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।
रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सो रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
आलम कांग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।

