काठमाडौँ, २२ कार्तिक–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी छोडेका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन्।
ललितपुरको इमाडोलमा सम्पन्न जसपाको केन्द्रीय समिति बैठकमा यादवले विगतमा विभिन्न कारणले असन्तुष्ट भएर अलग भएका कार्यकर्तालाई पुनः पार्टीमा स्वागत गर्न तयार रहेको बताएका हुन् ।
पार्टीको स्थापना कालदेखि नै योगदान पुर्याएका तर पछि फरक मार्ग रोजेका व्यक्तिहरूले अब पुनः ‘आफ्नै घर’ फर्कन कुनै हिचकिचाहट मान्नु नपर्ने बताए । उनले भने, ‘जसपा नेपाल सबैको साझा राजनीतिक परिवार हो । जुनसुकै कारणले टाढा भएका साथीहरूलाई पनि हामी खुलेर स्वागत गर्छौँ।’
अध्यक्ष यादवले पार्टीमा पुनः प्रवेश गर्नेहरूलाई उनीहरूको क्षमता, अनुभव र योग्यताअनुसार जिम्मेवारी र भूमिका दिइने आश्वासन पनि दिएका छन् ।
पार्टीको ढोका सबैका लागि खुला रहेको हुँदा नयाँ उत्साहका साथ पुराना साथीहरूको पुनरागमनको प्रतीक्षा भइरहेको उनको भनाइ छ ।

