झिलझिले, २३ कार्तिक–एपिएफले टाइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई ४–२ ले हराएर प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

एपिएफले सोमबार नेपाल पुलिससँग उपाधि भिडन्त गर्ने छ। झापाको शिवसताक्षी दुधे रङ्गशालामा भएको खेलको निर्धारित समय १–१ गोलले बराबर भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।

खेलको ६३ औँ मिनेटमा आर्मीकी डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबिचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन्। तर खेलको इन्जुरी समयमा अनिता बस्नेतले गोल गरी बराबरीमा ल्याइन।

टाइब्रेकरमा एपिएफका सविता रानामगर, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे।

एपिएफकी रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकेकी थिइन्। यता आर्मीकी विमला विक र अनिता लम्जेलले मात्रै गोल गरे।

आर्मीकी विमला चौधरी र सुस्मिता चौधरीको प्रहार एपिएफकी गोलकिपर अञ्जना रानामगरले जोगाएकी थिइन्। अञ्जना नै ‘प्लेअर अफ दी म्याच’ घोषित भइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *