दमक, २७ कार्तिक–दमकमा प्रधान कार्यालयसहित इलाम, मोरङ र झापाका विभिन्न स्थानहरुमा सेवा केन्द्र सञ्चालनमा आएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा भोली (कार्तिक २८ गते) शुक्रबारदेखि सुरु हुने भएको छ ।
विर्तामोड सेवा केन्द्रबाट सुरु हुने वार्षिक साधारणसभा मंसिर ५ गते शुक्रबार दमकमा भब्य समारोहबीच समापन हुने संस्थाले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । सोही, अवसरमा संस्थाको १४औं वार्षिक साधारणसाबाट निर्वाचित नयाँ सञ्चालक समिति घोषणा र सपथग्रहण हुने कार्यक्रम तय भएको अध्यक्ष लिङदेनले जानकारी दिनुभयो ।
त्यस्तैं, मंसिर १ गते सोमबार झिलझिले सेवा केन्द्र र मंसिर २ गते मंगलबार मोरङको उर्लाबारी सेवा केन्द्रमा इकाईगत वार्षिक साधारणसभा सम्पन्न हुने भएको छ ।
इकाईगत वार्षिक साधारणसभा सम्पन्न भएपछि संस्थाको प्रधान कार्यालय दमक अन्तर्गत कमल गाउँपालिका, गौरादहसहित इलामको माङ्सेबुङ र चुलाचुलीका शेयर सदस्यहरुलाई लक्षित गरेर मंसिर ५ गते शुक्रबार दमकस्थित पशुपती सेवा सदनमा १४औं वार्षिक साधारणसभा सम्पन्न हुने भएको छ ।
आज (बिहिबार) विहान फाल्गुनन्द सहकारी संस्थाको प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर १४औं बार्षिक साधारणसभाको कार्यक्रम र तालिकासहित आर्थिक वर्ष २०८१।०८२ को प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थामा २५३८ सदस्यहरु छन् भने महिला सदस्यको संख्या १३७० र पुरुष सदस्यको संख्या ११६१ जना रहेका छन् ।
संस्थाका अध्यक्ष पदम लिम्बू लिङ्देन (संकल्प) को अध्यक्षतामा प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाकी उपाध्यक्ष फूलकुमारी आङदम्बेले संस्थाको वित्तिय अवस्था, वित्तिय प्रगती, आगामी योजना, लक्ष्य, कार्यक्रमका बारेमा प्रष्ट बनाउँदै स्वागत मन्तव्य राख्नुभएको थियो ।
संस्थाकी उपाध्यक्ष आङदम्बेले फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन गर्ने निर्वाचन कार्यक्रमसहितको १४औं वार्षिक साधारणसभा भएको बताउनुभयो ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लिङदेन, उपाध्यक्ष आङदम्बे, संस्थाका व्यवस्थापक कुवेर तुम्बापो, सञ्चालक समिति सदस्य कमला योङहाङ सुब्बा, सुबास आचार्य, लेखा सुपरिवेक्षण समितिका सदस्य शक्ति सावाँ, झिलझिले सेवा केन्द्र संयोजक किरण लिङदेन, उर्लावारी सेवा केन्द्र संयोजक सुर्यमान खजुम लगायतका शेयर सदस्यहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाको प्रतिवेनमाथि पत्रकारहरुले जिज्ञासासहित सुझावहरु राखेका थिए भने सहजिकरण संस्थाका व्यवस्थापक कुवेर तुम्बापोले गर्नुभएको थियो ।
