काठमाडौँ, २७ कार्तिक–मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ अन्तर्गत तय गरिएको प्रदर्शनको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौँले अस्वीकार गरेको छ । प्रसाईँ समूहले मंसिर ७ गते प्रदर्शन गर्ने योजना बनाएको थियो ।
प्रशासनका अनुसार शान्ति(सुरक्षासम्बन्धी जोखिमका कारण प्रदर्शनको अनुमति दिन नसकिने निर्णय गरिएको हो । प्रहरीको प्रतिवेदनमा प्रसाईँ पक्षको गतिविधि अराजक बन्न सक्ने उल्लेख भएपछि गृह मन्त्रालयले पनि प्रदर्शन रोक्ने तयारी गरेको स्रोतले जनाएको छ ।
अनुमति बिना प्रदर्शन गर्न खोजिए बल प्रयोग गरी रोक्ने योजना प्रहरीले बनाएको छ । गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, ‘हालको सुरक्षा परिस्थितिमा यस्तो प्रदर्शनलाई अनुमति दिन सम्भव छैन, कानुनविपरीत गतिविधि भए कानुनी प्रक्रिया अघि बढाइनेछ’ उनले भने ।
यसअघि प्रसाईँ समूहले बुधबार गृहमन्त्री ओमप्रकाश अर्याललाई २७ बुँदे मागपत्र बुझाएको थियो । सो मागपत्रमा संविधान खारेज, राजसंस्था पुनः स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्था लगायतका मागहरू समावेश छन् ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा गर्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि त्यसमा उल्लेख छ । प्रसाईँले मंसिर ७ गतेदेखि देशभर चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

