दमक, २७ कार्तिक–दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २९औं बार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
भोली (शुक्रबार) दमक–१ संस्थाको कार्यालय भवनमा हुने २९औं वार्षिक साधारणसभाको प्रचारप्रसार गर्ने उदेश्यले प्रतिवेदन सार्वजनिक गरिएको हो ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि न्यौपाने केसीको अध्यक्षतामा आर्थिक वर्ष २०८१/०८२ मा गरिएको संस्थागत गतिविधिहरु, संस्थागत प्रगती र आगामी योजना र बजेटसहितका प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक बर्ष २०८१/०८२ को वास्तविक खर्च ८ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको र आर्थिक बर्ष २०८२/०८३ का लागि ८ करोड ६९ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनु भयो ।
अध्यक्ष न्यौपानेले उपभोक्ताको माग र आवश्यकतालाई अध्ययन गरी संस्थाको आर्थिक अवस्थालाईसमेत मध्यनजर गर्दै बिगतमा न्यूनतम ८ युनिटसम्म खानेपानी शुल्क १३० रुपैयाँ रहेकोमा वर्तमान नेतृत्वले सो शुल्क न्यूनतम ५० रुपैयाँ कायम गरेको, धारा जडान शुल्क १५ हजार ३०० रहेकोमा ३ हजार रुपैयाँ कटौती गरी हाल १२ हजार ३ सय रुपैयाँ मात्रै कायम गरेको पनि जानकारी दिनुभयो । न्यून आय भएका घर परिवारलाई क्षेत्रगत आधारमा ५ घरलाई पूर्ण निशुल्क र १५ घरलाई ५० प्रतिशत छुटमा धारा जडान गर्ने नीति लिइएको पनि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
उपभोक्ताहरुबाट भइरहेको पानीको मागलाई ध्यानमा राखेर २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउन संस्था प्रयत्नशील रहेको , योजनालाई थप दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन प्रयत्नशील रहेको पनि अध्यक्ष न्यौपानेले उल्लेख गर्नु भयो । उपभोक्तालाई महसुल तिर्न सहज बनाउने उद्धेश्यले क्यूआर तयार गरी जडान गर्ने कार्य भइरहेको पनि जनाइएको छ ।
अघिल्लो आर्थिक बर्षमा सिस्टम नम्बर १ वडा नं २ बाट पानी वितरण गर्न संस्थाको दमक २ अडियामलस्थित जग्गामा १ सेट प्रेशर फिल्टर तथा बोरिङ निर्माण गरी पानी सञ्चालन गरिएको , खानेपानी आयोजनाको जिआइएस तथा क्यूआर जडान गरिएको , हाल सम्म १२ वटा सार्वजनिक धारा निशुल्क जडान गरिएको, विपन्न परिवारमा ५० प्रतिशत छुटमा ६३ वटा र १२ परिवारमा निशुल्क धारा जडान गरिएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका अध्यक्ष रवि न्यौपाने केसीसहित सचिव चन्द्र थापा, संस्थाका सदस्य गजेन्द्र देवान (गजु), लेखा संयोजक राधिका ओझा, व्यवस्थापक कृष्ण थापा, संस्थाका सदस्यहरु दुर्गा काफ्ले, रीता श्रेष्ठ, पार्वता ढकाल, दिलु सुब्बा, सल्लाहकार बिष्णुमाया भट्टराई, लेखा सदस्य हरी बहादुर राई लगायतको सहभागिता थियो ।
संस्थाका कार्यसमिति सदस्य गजेन्द्र देवानका अनुसार दमकको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा करीब १४ हजार भन्दा धेरै उपभोक्ताहरु छन् ।
