धरमपुर, १ मंसीर–इलाका प्रहरी कार्यालय झिलझिलेबाट फरार थप दुई थुनुवा पक्राउ परेका छन् ।
आइतवार दिउँसो ४ः३० बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी–४ बस्ने २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही ठाउँ बस्ने ४० वर्षीय नन्दकिशोर शाहलाई पक्राउ गरेको हो ।
उनीहरुलाई उनीहरुको घरबाटै नियन्त्रणमा लिएर हाल इप्रका झिलझिलेमा राखिएको छ ।
लागूऔषध मुद्धामा म्याद थप भई कसुर अनुसन्धान भइरहेकोमा जेनजी आन्दोलनका क्रममा उनीहरु फरार भएका थिए ।
आइतवार अर्का फरार थुनुवा पक्राउ परेका थिए । सवारी अंगभङ्ग मुद्दामा पक्राउ परी अनुसन्धान भइरहेका कचनकवल–६ घर भई हाल काठमाण्डौं दक्षिणकाली ३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल पनि पक्राउ परेका हुन् । उनी पनि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इप्रका झिलझिलेको हिरासतबाट भागेका थिए ।
इप्रका झिलझिलेबाट ५ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये ३ जना पक्राउ परेका हुन् । जेनजी आन्दोलनका क्रममा गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका इप्रका दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवा फरार भएका थिए ।
त्यसमध्ये हालसम्म १० जना मात्र पक्राउ परेका छन् भने ८२ जना फरार नै रहेका छन् ।

