काठमाडौं, २ मंसिर–नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालविरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

सुवेदीको नेपाल कम्युनिस्ट पार्टी आयोगमा दर्ता छ भने हालै प्रचण्ड संयोजक र नेपाल सहसंयोजक भएको नेपाली कम्युनिष्ट पार्टीलाई समेत आयोगले दर्ता गरेको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १२ वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी नामकै कारण फेरि कानुनी झमेलामा फस्ने भएको हो ।

आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीसँग मिल्दोजुल्दो गरी दर्ता गराएको विषयमा अध्यक्ष सुवेदीले नेकपाविरुद्ध कात्तिक २६ गते आयोगमा उजुरी दिएका थिए । तर उजुरीमाथि कुनै सुनुवाइ नगरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको सुवेदीले आरोप लगाएका छन् । उनले प्रचण्ड र माधव नेपालको बलमिच्याइँविरुद्ध सर्वोच्च अदालतमा जाने बताएका छन् ।

‘हाम्रो पार्टीको नामसँग मिल्दोजुल्दो गरी नेपाली कम्युनिस्ट पार्टी दर्ता नगर्न मैले आयोगमा उजुरी दिएको थिएँ । तर उजुरीमाथि कुनै सुनुवाइ नगरी आयोगले दल दर्ता प्रमाणपत्र दिएको सुनेको छु । प्रचण्ड र माधवको बलमिच्याइँविरुद्ध न्यायिक निरुपणका लागि सर्वोच्च अदालत जान्छौँ,’ उनले भने ।

दल दर्ताका लागि आयोग पुगेका नेपाली भने सुवेदीको पार्टीसँग आफ्नो पार्टी मेल नखाने दाबी गरे ।

‘लोकनारायणजीको पार्टी नेपाल कम्युनिस्ट पार्टी हो, हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टी हो । छोटकरी नाममा पनि उहाँले सीपीएन भन्नुभएको छ । हामीले एनसीपी भनेका छौँ । सबै कुरा फरक छ । त्यसकारण निर्वाचन आयोगले दल दर्ता गरिसकेको हो,’ पाण्डेले भने ।

यसअघि २०७५ साल जेठ ३ गते तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर गठन गरेको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध नेकपाका तत्कालीन अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । कट्टेलले दायर गरेको मुद्दामा अदालतले २०७७ साल फागुन २३ गते तत्कालीन माओवादी र एमालेले राखेको नाम बदर गरिदिएको थियो ।

अहिले भने नेपाली कम्युनिस्ट पार्टीलाई मान्यता दिएको विषयमा आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भाषा विदसँग सल्लाह गर्दा पार्टी फरक भएकाले दलको मान्यता दिएको जिकिर गरे ।

‘नेपाली कम्युनिस्ट पार्टीविरुद्ध लोकनारायण सुवेदीले उजुरी दिनुभएको थियो । यस विषयमा हामीलले कानुनका जानाकार र भाषा विदसँग छलफल गर्‍यौँ । लोकनारायणको पार्टीको अगाडि नेपाल छ । प्रचण्डको पार्टीको अगाडी नेपाली छ,’ उनले तर्क गरे, ‘नेपाल भनेको देश बुझाउँछ । नेपाली भनेका जनता बुझाउँछ । आयोगमा पहिल्यै दर्ता भएको कम्युनिस्ट पार्टी अफ नेपाल हो । अहिले दर्ता भएको नेपाली कम्युनिस्ट पार्टी हो । जहाँसम्म नेपाली छोटकरी नाम उस्तै भयो भन्ने सवालमा नेपाली कम्युनिस्ट पार्टीले सर्ट नाम राख्न पाउँदैन ।’

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य र फागुन ११ गते हुनेप्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सोमबार साँझसम्म १२३ वटा दल आयोगमा दर्ता भएका छन् भने ३२ वटा प्रक्रियामा छन् । आयोगले यही मंसिर १० सम्म दल दर्ताको समयअवधि दिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *