काठमाडौँ, २ मंसिर–पितृका नाममा बत्ती बाल्ने र शतबीज छर्ने प्रयोजनका लागि पशुपतिनाथ क्षेत्र आउँदा हुँदा बहुमूल्य गरगहना नलगाउन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले चोरी तथा लुटपाट हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो।
साँझ पितृका नाममा बत्ती बाल्न साँझदेखि पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।
मार्गशीर्ष कृष्ण चतुर्दशीका बिहान शतबीज छरिन्छ। त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज गर्छन्।

