काठमाडौँ, ६ मंसिर–आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ८ लाख ३७ हजार मतदाता थपिएका छन्। गत असोज ९ गते नयाँ मतदाता नामावली संकलन शुरु गरिएको थियो।

निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन नगर्ने विद्यमान कानून भए पनि जेनजी आन्दोलनका कारण निर्वाचन हुन लागेकाले उमेर पुगेका जेनजी युवालाई समेट्न अध्यादेश मार्फत् कानून संशोधन गरिएको थियो ।

यसअघि आयोगले कात्तिक मसान्तसम्मको मिति तोकेर मतदाता नामावली संकलन तथा अद्यावधिक शुरु गरे पनि सरकारको आग्रहमा ५ दिन थप गरेर हिजो मंसिर ५ गतेसम्म मतदाता नामावली संकलन गरिएको थियो।

थपिएका ८ लाख ३७ हजार ९४ सहित कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६ सय ६४ पुगेको निर्वाचन आयोगले जनाएको छ। नयाँ मतदातामध्ये ३ लाख ४४ हजार ९१४ जना निर्वाचन कार्यालयमा गई आवेदन दिने हुन्।

य​स्तै राष्ट्रिय परिचय पत्र मार्फत् ४ लाख ९१ हजार १ सय ८० मतदाता थपिएका छन्। अन्तिम दिन हिजो मात्र ७ हजार ८६२ जनाले मतदाता नामावलीमा नाम लेखाएका थिए । २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *