धरमपुर, ५ मंसिर–इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक सुभाष केसी कोशी प्रदेशमा गत कार्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
प्रनि केसी हालसालै सो कार्यालयको प्रमुखका रुपमा सम्हालेका प्रहरी निरीक्षक हुन् । उनी नेतृत्वको टोलीले शिवसताक्षी १० माइधारका ३३ बर्षिय सरोज शर्माको अपहरणपछि हत्या सम्बन्धिको घट्नामा प्रहरीका तर्फबाट अपराध अनुसन्धानमा गरिनु पर्ने कार्यसम्पादन सफलतापूर्वक गरेको थियो ।
कार्तिक ९ गते अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा भएको अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्नहरूलाई पहिचान गर्ने, हत्या गरिएको शर्माको शव फेला पारेर पहिचान गरी गहिरो अनुसन्धान, तथ्य–प्रमाण जुटाउने जस्ता महत्वपूर्ण कार्य गरी जघन्य अपराधमाथिको अनुसन्धानलाई निष्कर्षमा पुरयाउन प्रहरी निरीक्षक केसी नेतृत्वको टिम सफल भएको थियो ।
शर्माको शब हुलाकी मार्ग अन्तर्गत बिरिङ खोलाको पूल मुनी गाडेको अवस्थामा भेटिनका साथै उनको हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न, सो प्रकरणमा थप धनजनको क्षती हुनबाट जोगाउन महत्वपूर्ण नेतृत्वदायी भुमिका निर्वाह गरेको कारण उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

