काठमाडौँ, ७ मंसिर–जनता समाजवादी पार्टी (जसपा) फेरि फुटेको छ । २०८१ साल बैसाखमा अशोक राईले जसपा निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
अशोक राई नेतृत्वको जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । उनीहरूले अध्यक्ष राईलाई पत्र पठाउँदै आफूहरू पार्टीबाट अलग भएको जानकारी गराएका छन्।
पत्रमा भनिएको छ, ‘हामी केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ-आफ्नै पदीय जिम्मेवारीबाट अलग हुँदै, विभिन्न राजनीतिक शक्तिहरू एकताबद्ध भएर बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण तथा ध्रुवीकरणतर्फ अगाडि बढ्ने जानकारी गराउँछौँ।’
जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थितिमा २०६२/०६३ को जनआन्दोलनबाट हासिल भएका उपलब्धि समेत जोखिममा पर्न सक्ने भएकाले विचार नजिक रहेका परिवर्तनका पक्षधर शक्तिसँग सहकार्य गरेर ती उपलब्धिको सुरक्षा र थप प्रगति हासिल गर्न संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेको उनीहरूले बताएका छन् ।
संघीय परिषद्का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा। पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजु नेपाली कम्युनिस्ट पार्टीतर्फ जाने तयारीमा रहेका छन्।
यो सहित जनता समाजवादी चौथो पटक जनता समाजवादी पार्टीले फुटको सामना गरेको हो । २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जसपा नेपाल बनेको थियो।
२०७८ भदौ १ गते महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले जसपा नेपालबाट विभाजित भई नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए । त्यसको एक वर्षपछि २०७९ सालमा डा। बाबुराम भट्टराई, महिन्द्र यादवलगायत नेताहरू जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए।
त्यति बेला अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, रेणु यादव, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतोलगायत नेताहरूले जसपा नेपाल विभाजन गरी नयाँ पार्टी गठनको घोषणा गरेका थिए ।
त्यपछि पुन २०८१ बैसाखमा जनता समाजवादी पार्टी (जसपा) फेरि फुट्यो । संघीय परिषद् अध्यक्ष ओशक राईले बहुमत सांसदको समर्थनमा आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

