काठमाडौँ, ७ मंसिर–सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ।
प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिरासतबाट मुक्त गर्न आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘।।।निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भइसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउ पुर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाद प्रसाईँलाई गैर कानुनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ।’
प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पुग्ने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंसिर २ गते राति उनको निवासबाट पक्राउ गरेको थियो।
यससँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी भर्खरै छुटेका हुन् ।

