काठमाडौँ, ८ मंसिर–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब विशेष महाधिवेशन नै अपरिहार्य भएको बताएका छन्।
सोमबार बिहानदेखि धेरैले ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?’ भनेर प्रश्न गरेका उल्लेख गर्दै थापाले स्पष्ट जवाफ आफूले ‘होइन’ भनेको बताए ।
महामन्त्री गगन थापालेले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेर भनेका छन्, ‘प्रस्ट छ-अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ ।’
महामन्त्री थापाका अनुसार नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्याएर निर्वाचन आयोगमा पठाइनेछ। उनले लेखेका छन्, ‘नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ । यही कारण हो-हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौँ।’

