प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ, ९ मंसिर–प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैंगिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त भएको बताएकी छन् ।

‘प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु गरिएको यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको मंगलबार उद्घाटन गर्दै उनले जुनसुकै नाममा हुने हिंसाले कसैको हित नहुने उल्लेख गरिन्।

उनका अनुसार महिलामाथि बढी देखिने लैंगिक हिंसाबाट पुरुषसमेत प्रताडित हुने सामाजिक यथार्थ बुझिनुपर्ने आवश्यकता छ। प्रविधिको प्रयोगले सचेतना वृद्धि, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन मद्दत गर्ने भएकाले यस वर्षको नारा निकै सान्दर्भिक रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने स्पष्ट पार्दै संविधान तथा कानुनले महिलालाई समान अधिकार दिएको भए पनि व्यावहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको टिप्पणी गरिन् । उनले निर्णय तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने र त्यसका लागि दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

हिंसाले महिलाको जीवनमा मानसिकसहित बहु आयामिक चोट पुर्‍याउने भएकाले पीडितको संरक्षण, राहत र पुनः स्थापनालाई राज्यको प्राथमिकतामा राखिने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक सामाजिक व्यवहार परिवर्तनमार्फत लैंगिक हिंसा अन्त्यका लागि सबै पक्षलाई सक्रिय भूमिका निभाउन आह्वान गरिन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *