काठमाडौँ, ९ मंसिर–प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय महिला आयोगद्वारा मंगलबार आयोजित लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान शुभारम्भ कार्यक्रममा उनले लैङ्गिक हिंसा बढ्दो रहेको उल्लेख गर्दै सानैदेखि एकअर्कालाई सम्मान गर्न सिकाए यस्ता हिंसामा कमी आउने धारणा व्यक्त गरिन् ।
उनका अनुसार हाल महिला तथा किशोरीमा साइबर आक्रमण तीव्र रूपमा देखा परिरहेका छन् । उनले साइबर हिंसा रोक्न सचेतना आवश्यक रहेको र यसको अन्त्यका लागि पुरुषहरूको साथ पनि जरुरी हुने बताइन् ।
नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी उपरीक्षक (एसपी) बसन्धुरा खड्काले लैङ्गिक हिंसा अन्त्यका लागि साहस, ऐक्यबद्धता र सामूहिक प्रयास अनिवार्य रहेको बताइन् । उनका अनुसार २०८१र८२ मा नेपाल प्रहरीमा लैङ्गिक हिंसासम्बन्धी १८ हजार ९२६ उजुरी दर्ता भएका छन् । उनले सामाजिक सञ्जालमार्फत हुने हिंसा बढ्दो भएकाले यसबारे नयाँ तरिकाले सोच्नुपर्ने आवश्यकता औँल्याइन्।
कार्यक्रममा मनोचिकित्सक डा। वासुदेव कार्कीले डिजिटल प्रविधि विवेकपूर्ण रूपमा प्रयोग गरे साइबर हिंसा र त्यसले ल्याउने मानसिक असरबाट जोगिन सकिने बताए। साइबर विज्ञ अभिजित गुप्ताले अनलाइनमा के सेयर गर्ने(नगर्ने स्पष्ट बुझेर प्रयोग गर्नुपर्छ भन्दै प्रविधिको सही प्रयोगले हिंसाबाट बच्न सकिने बताए।
