काठमाडौँ, १३ मंसिर–सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।
शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै पाँचौँ जित हात पारेपछि सुदूरपश्चिमले प्लेअफमा स्थान सुनिश्चित गरेको हो।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७।४ ओभरमा ४ विकेटको क्षतिमा १४८ रन पुर्याउँदै पूरा गर्यो।
सुदूरपश्चिमका इशान पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै ३५ बलमा ५६ रन बनाए । एक रनमै दुई विकेट गुमाएको अवस्थाबाट इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । विनोदले ४९ बलमा ४२ रन जोडे । हर्मित सिंहले १० बलमा अविजित २५ रन थपे।
जनकपुरका माज सदाकतले २ विकेट लिए।
यो पराजयसँगै साविक विजेता जनकपुरको लगातार चौथो हार भएको छ । लगातार हारपछि जनकपुर लिग चरणमै बाहिरिन सक्ने अवस्थामा पुगेको छ । अंकगत रुपमा निकै झिनो सम्भावना बाँकी रहे पनि प्लेअफ पुग्न जनकपुरले बाँकी तीनै खेल जित्नुका साथै अन्य टोलीहरूको नतिजा पनि अनुकुल आउनुपर्नेछ।
यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतक सहयोगमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जान लफ्टी इटनले ३९ रन बनाए । ३५र३ को अवस्थाबाट इटन र कृष्णमूर्तिले जनकपुरको इनिङ्स उकासेका थिए।
सुदूरपश्चिमका अविनाश बोहराले ४ विकेट, स्कट कुगेलेइनले ३ विकेट र कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका थिए।
