शिबगञ्ज, १४ मंसिर–झापाको शिवसताक्षी–११ दुधेस्थित दूधे खेल मैदानमा चासोक तङ्नाम पर्व सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ र नालिफुङ्गो चुम्भोको संयुक्त आयोजनामा दूधेमा मंसिर १३ देखि १८ गतेसम्म चासोक तङ्नाम पर्व सञ्चालन हुनेछ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका–११ का वडाध्यक्ष बहादुर आङ्बोले पानसमा बत्ती बालेर चासोक पर्व अन्तर्गत मेलाको उद्घाटन गरेका हुन् । सो पर्वको मुख्य कार्यक्रम मंसिर १८ गते हुने जनाइएको छ।

चासोक तङ्नाम अन्तर्गत याक्थुङ पाङबो (लिम्बू समुदायको परम्परागत बस्ती) झल्किने गरी ३ वटा मौलिक घर निर्माण गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

मेला संयोजक अग्नि राईले चासोक तङ्नाम लिम्बू समुदायको मात्र नभई सबै जातजाति र समुदायले मनाउने साझा सांस्कृतिक पर्व बन्दै गएको बताए। नेपाल बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्र भएकाले विविध समुदायले आफ्नो परम्परा अनुसार यो पर्व मनाउँदै आएको उल्लेख गर्दै उनले भने, “लिम्बू समुदायले नयाँ बाली भित्र्याउने अवसरमा चासोक मनाउँछन् भने अन्य समुदायले यसलाई न्वागी पर्वको रूपमा मनाउने गरेका छन्।”

उनले शिवसताक्षीमा पछिल्ला १० वर्षदेखि चासोक सामूहिक रूपमा मनाउन थालिएको जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष आङ्बोसहित अन्य वक्ताहरूले सामूहिक रुपमा चासोक तङ्नाम मनाउने परम्पराले सबै समुदायबीच भाइचारा र आत्मीयता अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष डिल्ली फेम्बु, वडा सदस्य रुका ढकाल, नेपाली कम्युनिष्ट पार्टी नगर अध्यक्ष दुर्गा नेम्वाङ, मेची बोर्डिङ स्कूलका प्रिन्सिपल पदमजंग कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *