जसपा अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ, १५ मंसिर–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिस्ट दलले दशकौँसम्म सत्ता सञ्चालन गर्दा मुलुक कमजोर बनेको आरोप लगाएका छन्।

समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।

यादवका अनुसार करिब ३५ वर्षसम्म सत्ता सञ्चालन गरे पनि ती शक्तिले जनताका आधारभूत आवश्यकतामा सुधार गर्न सकेनन् । उनले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र बढ्दै गएको बताउँदै त्यसका विरुद्ध युवाहरू आन्दोलनमा उत्रिएको उल्लेख गरे।

उनले भने, ‘अहिले मुलुकको राजनीति अत्यन्त संकटमा छ। नेपालमा बहुदल व्यवस्था आइसकेपछि करिब ३५ वर्षसम्म काँग्रेस–कम्युनिस्टले शासन गरे। अरूले केही मन्त्रालय अथवा सहयोगी भूमिका निभाए ।

आज मुलुक शिक्षाको क्षेत्रका हिसाबले ध्वस्त भयो। स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ। युवाहरूलाई राम्रो शिक्षा र रोजगारी समेत दिन सकेनौँ।’

यादवले पुरानै राजनीतिक शक्तिहरूबाट देशले अब समाधान पाउन नसक्ने दाबी गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *