विराटनगर, १६ मंसिर–नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले देश अत्यन्त कमजोर अवस्थामा पुगेको बताएका छन्।

विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सभालाई सम्बोधन गर्दै नेता खनालले देशी विदेशी षड्यन्त्रका कारण देश कमजोर अवस्थामा पुगेको बताएका हुन्।

‘कम्युनिस्ट आन्दोलन सुरु भएको ७६ वर्ष पुगे पनि यो अवधिमा धेरै प्रगतिको अपेक्षा गरिए पनि देशी तथा विदेशी प्रतिक्रियावादीको षड्यन्त्रका कारण अहिले देश यो अवस्थामा आइपुग्यो,’  उनले भने।

उनले संविधानमा उल्लेख गरिएको भूमि सुधार र कृषि क्रान्ति जस्ता विषयहरू दलका नेताहरू सत्तामा पुगेपछि बिर्सने प्रवृत्ति रहेको बताए।

उनले अब नेपाली कम्युनिस्ट पार्टीले कृषिलाई आधुनिकीकरण गर्ने सङ्कल्प गरेको बताए।

उनले त्यसैका लागि पार्टीहरू एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको बताए।

‘एकता भनेको टाउको जोडेर हुँदैन। हामीले चार आधारमा एकता गरेका हौं। १६ पार्टीले महसुस गर्यौ। मार्क्सवाद लेनिनवादलाई साझा मार्गदर्शक सिद्धान्त मानेका छौं। पुँजीवादी क्रान्ति सम्पन्न गर्यौ। अब समाजवादी क्रान्ति यही पार्टीको नेतृत्वमा पूरा गर्नेछौ। नेपाली विशेषताको समाजवाद स्थापना गर्नेछौ। यसमा हामी सहमत भएका छौं,’  उनले भने।

नेपाली विशेषताको समाजवाद स्थापना गर्ने विषयमा सबै सहमत भएको पनि उनले उल्लेख गरे।

नेता खनालले यी सबै उपलब्धि प्राप्तिको शैली एमालेको जस्तो नहुने पनि बताए।

‘जसरी पनि बालुवाटार पुग्ने लक्ष्य सही बाटो हुँदैन। क्रान्तिकारी बाटो हुनुपर्छ,’ उनले भने,  ‘रणनितिक उद्धेश्य नेपाली विशेषताको समाजवाद हो। सुशासन , भ्रष्टाचार अन्त्य हो। विकास निर्माण हो। तर, यो काम सत्ता प्राप्त हुदा मात्रै सम्भव छ। त्यसका लागि आउने निर्वाचनमा कोशीका१४ जिल्ला अब लालकिल्ला बन्नेछ भनेर अघि बढेका छौं।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *