धरान, १६ मंसिर–हिजो दलका कार्यकर्तालाई झोले भन्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफै दल खोलेर ‘श्रम संस्कृति पार्टी’ मार्फत ‘हर्कवाद’लाई पार्टीको मूल मार्गदर्शक सिद्धान्त घोषणा गरेका छन् ।

आज (मंगलबार) धरानमा साम्पाङले श्रम संस्कृति पार्टीको अवधारणा पत्र र एजेन्डा सार्वजनिक गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले भने, ‘अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद।’

२०७९ को स्थानीय चुनावमा मेयर बनेपछि पनि उनले श्रम अभियानलाई व्यापक बनाएका छन् । हाल उनले श्रम संस्कृति पार्टीको अध्यक्ष बनेर आफ्नै नाममा आधारित राजनीतिक सिद्धान्त अघि सारेका हुन् । प्रदेशका विभिन्न पहाडी जिल्लामा उनी ठूलो भीडसहित सभा गरिरहेका छन् ।

उनले सङ्गठन विस्तारलाई ‘श्रमदाता विस्तार’ भन्दै आएका छन् । साम्पाङले भने, ‘हाम्रो पार्टीमा कोही नेता र कोही कार्यकर्ता हुने छै । सबै श्रमदाता मात्रै हुन्छन् । म नेता भएर ठूलो कुर्सीमा बस्ने होइन, श्रम गर्दै हिलोमा, धुलोमा भेटिनेछु।’

गत एक महिनामा उनले कोशी प्रदेशका ८ ठाउँमा ठूला सभा गरिसकेका छन् । समर्थकहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका तस्बिर र भिडियोमा सभामा उल्लेख्य सहभागिता भएको देखिन्छ ।

साम्पाङको दलमा आदिवासी–जनजाति समुदायको बाहुल्य रहेको आलोचना भइरहेका बेला पार्टीले देशभरि सभा गर्ने तयारी अघि बढाएको छ। कोशीका विभिन्न जिल्लामा समिति विस्तार तीव्र गतिमा भएको राईले बताए।

मंसिर २० मा हेटौँडा, २१ मा नारायणगढ, २२ मा काठमाडौँ सिफल, २३ मा काभ्रे र २७ मा खोटाङमा सभा गर्ने तयारी भइरहेको श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले बताए ।

पार्टीले देशका सातै प्रदेशमा इन्चार्ज तोकेको छ। कोशी प्रदेशमा भने हालसम्म कसैलाई जिम्मेवारी नदिएको राईले बताए। मधेशमा दिपकजंग ठाकुर र ऐनुदिन कवारी,

बागमतीमा जनजीत तामाङ, लुम्बिनीमा कुलवीर दर्लामी, गण्डकीमा हर्क पुन, कर्णालीमा भगत बराइली र सुदूरपश्चिम प्रदेशमा महेन्द्र पुनलाई इन्चार्जको जिम्मा दिइएको पार्टीले जनाएको छ।

साम्पाङले अघि सारेको ‘हर्कवाद’मा प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासलाई केन्द्रमा राखिएको छ । पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, राष्ट्रपति–उपराष्ट्रपति फरक लिङ्ग र जातिका हुने प्रस्ताव, सांसद मन्त्री नबन्ने व्यवस्था तथा मन्त्री पदका लागि क्षेत्रका विज्ञलाई मात्र योग्य मानिने प्रावधान अघि सारेको छ। साम्पाङका अनुसार, ‘राष्ट्रपतिले राजनीतिक क्षेत्रबाहिरको विषय विज्ञ या सांसद जसलाई पनि लिएर सरकार गठन गर्न पाउने’ व्यवस्था हुनेछ।

शिक्षामा पार्टीले हप्तामा ३ दिन मात्रै सैद्धान्तिक पढाइ र ४ दिन उत्पादन तथा सृजनशीलतामा विद्यार्थीलाई लगाइने प्रस्ताव अघि सारेको छ । १२ कक्षासम्म खाना पकाउन र लुगा सिउन अनिवार्य सिकाइने, १२ कक्षापछि सैनिक तालिम अनिवार्य हुने उसको धारणा छ । शिक्षकलाई कुनै राजनीतिक दलको सदस्यता लिन नपाइने नीति पनि राखिएको छ।

राष्ट्रियता पक्षमा आईएनजीओ खारेज, सीमा सुरक्षामा सेना परिचालन, विवाह गरेर नेपाल आएका विदेशीलाई ५ वर्ष बसोबास र पुरानो नागरिकता त्यागेको आधारमा मात्र नागरिकता दिने नीति पार्टीले अघि सारेको छ।

आर्थिकतर्फ ‘वैज्ञानिक कर प्रणाली’, ‘एक गाउँ एक उद्योग’, ‘एक घर एक स्वरोजगार’ र सरकारी खर्च कटौतीको योजना सार्वजनिक गरिएको छ। श्रमदानलाई राष्ट्रिय नीतिको रूपमा लागू गर्ने लक्ष्य पनि उल्लेख छ।

सुशासनका लागि गल्ती गरे सरकारी कर्मचारीलाई सीधा बर्खास्त गर्ने, पत्रकार र न्यायालयलाई गैर राजनीतिक बनाउने, सबै सरकारी बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव घोषणापत्रमा छ । नयाँ पुस्ताका गुनासा सुन्न ‘जेनजी आयोग’ गठन गर्ने योजना पनि पार्टीले अघि सारेको छ।

धरानमा स्वतन्त्र उम्मेदवारका रूपमा लोकप्रिय बनेका साम्पाङले यो घोषणापत्र मार्फत आफू राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति बन्न लागेको सन्देश दिएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *