काठमाडौँ, २० मंसिर–पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै लिग चरण विजयी रूपमा समापन गरेको छ।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। दुवै टोली पहिले नै प्लेअफ दौडबाट बाहिरिइसकेकाले खेल प्रतिष्ठाका लागि मात्रै थियो।

पोखराले ७ खेलमा ३ जितसहित ६ अंक जोड्दै पाँचौँ स्थानमा लिग सकायो। चितवन भने ७ खेलमध्ये ५ खेलमा हार बेहोर्दै ४ अंकमै सीमित रह्यो ।

अब आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच लिग चरणको अन्तिम खेल हुनेछ। दुवै टोलीको समान २ अंक रहेको छ ।

पोखराका लागि ओपनर रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्कासहित ६५ रन बनाए। उनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि १४।२ ओभरमा १०० रनको साझेदारी गरे। कुमालले ५३ बलमा ४३ रन जोड्दै अविजित रहे।

कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए भने जेसन रोय ६ रनमा अविजित रहे।

बलिङमा चितवनका सैफ जैब र रिजन ढकालले समान एकरएक विकेट लिए।

यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो।

चितवनका लागि देव खनालले ३५ रन जोडे। यसै खेलबाट एनपीएलमा डेब्यू गरेका युगान्डाका अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन बनाए। कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन जोड्न सफल भए।

७ रनमै ३ विकेट गुमाएको चितवनलाई देव र जैबले ३८ रनको साझेदारी गर्दै उकासे । देवले कप्तान मल्लसँग २५ रनको साझेदारी गरे भने अन्त्यतिर मल्ल र राम्जानीले छैटौँ विकेटका लागि ३९ रन थपे।

पोखराका धनन्जय लक्षनले ३।४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकरएक विकेट हात पारे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *