काठमाडौँ, २० मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने सोच गलत भएको बताएका छन्।

च्यासलस्थित पार्टी कार्यालयमा आज शनिबार एमालेको मुखपत्र नवयुग ई(बुलेटिन शुभारम्भ समारोहमा उनले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घेराबन्दी तोड्ने र पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे।

ओलीले महाधिवेशनलाई लोकतन्त्रको सफलतासँग जोड्दै त्यसलाई भव्य र सफल बनाउन सबैले जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे। ‘यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो । त्यसैले यसलाई सफल बनाउनु पर्दछ,’ उनले भने।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकाल्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै एमालेलाई त्यस्तो नेतृत्वको केन्द्रका रूपमा प्रस्तुत गरे। उनले पार्टीभित्र प्रतिस्पर्धाभन्दा एकताको खाँचो बढी रहेको बताए।

महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले महाधिवेशन र पार्टीका गतिविधि प्रभावकारी रूपमा प्रचार गर्न नवयुग ई(बुलेटिन सुरु गरिएको बताइन् । उनका अनुसार हरेक दिन बेलुका ७ बजे महाधिवेशनसम्बन्धी सामग्री ई(बुलेटिनमार्फत प्रकाशित हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *