शिबगञ्ज (शिवसताक्षी), २४ मंसिर–महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा लैंगिक समानताको प्रवर्द्धनका उद्देश्यसहित सञ्चालन गरिएको १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान शिवसताक्षीमा विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ।
गत नोभेम्बर २५ मा वडा नं ३ पाराबारीबाट सुरु गरिएको अभियानको आज शिवसताक्षी–१० माइधारमा विशेष समारोहमार्फत समापन गरिएको हो।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मेगाहाङ थोप्राले राजनीतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सबै क्षेत्रमा विद्यमान लैंगिक विभेदलाई अन्त्य गर्न सबैले आफ्नो घर–परिवारदेखि नै परिवर्तनको अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो।
“समयसँगै सोच बदल्न सके मात्र हिंसामुक्त समाजको निर्माण सम्भव छ, त्यसका लागि नगरपालिका प्रत्येक वर्ष निरन्तर अभियान चलाउँदै आएको छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा श्री राष्ट्रिय रमणीय आदर्श मावि दुधेका विद्यार्थीहरूले महिला हिंसा विरुद्धको चेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए। नाटकको कथा साहित्यकार विरेन्द्र थोक्लियाङले लेख्नुभएको हो भने संयोजन तथा निर्देशन शिक्षक गोविन्द काफ्लेले गरेका थिए। दर्शकले नाटकलाई अत्यन्त प्रभावकारी र सन्देशमूलक रहेको प्रतिक्रिया दिएका थिए।
अभियान समापनको अवसरमा शिवसताक्षी नगरपालिकाले जाडोयामको कठिनाइलाई मध्यनजर गर्दै विपन्न तथा महिला हिंसामा परेका २० महिलालाई न्यानो ब्लाङ्केट वितरण गरेको छ।
कार्यक्रममा नगरउप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, वडाध्यक्ष हर्क सिगु, जिल्ला समन्वय समिति सदस्य जुनु मोहोरा लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
१६ दिने अभियानका सबै गतिविधि शिवसताक्षी नगरपालिकाको आयोजना, कारितास नेपाल तथा इलाका प्रहरी कार्यालय झिलझिलेको सहकार्यमा सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।
कार्यपालिका सदस्य यशोदा विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नगर महिला समिति सदस्य विष्णु अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीले गर्नुभएको थियो।
